काठमाडौं, असोज ३ – आफ्नो लागि आफै संविधान बनाउने नेपाली नागरिकको वर्षौंदेखिको सपना पुरा हुँदैछ । संविधानसभाबाट पारित भई सभासदको हस्ताक्षरसहित सभाध्यक्ष सुवासचन्द्र  नेम्वाङले प्रमाणीकरण गर्नुभएको संविधान आइतबार बेलुका ५ बजे विशेष समारोह आयोजना गरेर सार्वजनिक गरिदैँछ ।

संविधानसभा भवनमा हुने समारोहमा राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नुहुनेछ । त्यसअघि उहाँले संविधानमा हस्ताक्षर गर्नुहुनेछ । संविधानसभाको बैठक सुरु हुनासाथ सभाध्यक्ष नेम्वाङले संविधानको प्रति राष्ट्रपतिलाई हस्तान्तरण गर्नुहुनेछ । राष्ट्रपतिले हस्ताक्षर गरेर जारी भएको घोषणा गरे लगत्तै नयाँ संविधान लागु हुनेछ ।
संविधान घोषणा लगत्तै राष्ट्रपति यादवले सम्बोधन गर्ने तयारी छ । यसअघि उहाँले संविधान सार्वजनिक मात्र गर्ने कार्यक्रम तय भएपनि राष्ट्रपतिको इच्छा अनुसार सम्बोधन कार्यक्रम थप गर्न लागिएको संविधानसभा सचिवालयले जनाएको छ । ३५ भाग र ३ सय ८ धाराको संविधानमा संघीयता, गणतन्त्र, समावेशिता र अधिकार मुख्य र नयाँ विशेषता समेटिएका छन् । संविधान लागु भएसँगै देश ७ प्रदेशको संघीय संरचनामा प्रवेश गर्नेछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली संस्थागत र लामो समयदेखिको संक्रमणकाल पनि अन्त्य हुनेछ । आइतबार हुने समारोहलाई भव्य बनाउन संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ । नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई चिटिक्क बनाइएको छ । समारोहको लागि पूर्व अभ्यास पनि गरिएको छ । सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ ।
संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पुरा भएको सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ । पूर्व सभासद तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ ।
नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा व्यवसायीलाई निमन्त्रणा गरिएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजार पाँच सय भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।
पहिलोपटक नागरिकका प्रतिनिधिले बनाएको संविधानको घोषणा सभालाई बढीभन्दा बढी भव्य र सभ्य बनाउन सबै प्रकारको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । संविधान घोषणा भएसँगै देशभर दीपावलीको तयारी भैरहेको छ ।
http://ujyaaloonline.com/news/48338/ca/

Post a Comment

 
Top