काठमाडौं, असोज ३ – संविधान जारी हुने निश्चित भएसँगै नागरिकमा उत्साह छाएको छ । लामो संक्रमणलाई चिर्दै संविधान जारी हुन लागेको खुशीमा आज देशभर उत्साहसँगै दिपावली हुँदैछ । तर ज्याला मजदुरी गरिखाने वर्गमा संविधानले के दिन्छ भन्ने जानकारीसम्म छैन । उनीहरु भन्छन्, जे भएपनि ढुक्कसँग गरिखान पाउने वातावरण बनोस् ।

‘संविधान आउँदै छ रे, मैले त हल्ला मात्र सुनेको छु । हो या होइन खै थाहा छैन । आएकै राम्रो जस्तो लाग्छ सबैले आएकै राम्रो भनेका छन् क्यारे, मलाई त आए पो के नआए पो के । मैले गर्ने काम नगरी सुखै छैन । जसले जे गरे पनि हुने शासनको अन्त्य होस्, धनी र गरीब सबैलाई समान होस् । यति मात्र हो शान्तिसँग बाँच्न र गरिखान पाउनुप¥यो । हाम्रो कानुन र सरकार दह्रो हुनुपर्छ’ ललितपुरको जाउलाखेलमा फलफूल बेच्ने धादिङ्गका सोमनाथ अधिकारीले भन्नुभयो ।
उहाँ जस्तै सडक व्यापारी, दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुर संविधानबारे त्यति जानकार छैनन् । भक्तपुरको ठिमी बस्ने दिपक चर्मकार पेशाले स्कुल गार्ड हुनुहुन्छ । फुर्सदमा गाडीको सहचालक पनि । उहाँ अहिले २१ बर्षको मात्र हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘संविधान आउँदै छ भनेर सरकारले सार्वजनिक विदा दिएको छ रे हामीलाई के हुन्छ भन्ने थाहा छैन ।’ आज जारी हुन लागेको संविधान पनि दीगो हुन्छ की हुँदैन भन्ने उहाँको शंका छ । उहाँ भन्नुहुन्छ, ‘सबै सभासद्को सहमति छैन भन्ने सुनेको छु । तराई मधेसमा आन्दोलन छ । हामी जस्ता युवाका लागि के छ संविधानले दिने मलाई जानकारी छैन । संविधानमा हामी जस्ता युवालाई समेट्नु पर्ने हो तर छैन जस्तो लाग्छ ।’
पानी, बदाम बेचेर दैनिक घरखर्च टार्ने जगतकुमारी पनि संविधान आएर के हुन्छ भन्नुहुन्छ । ललितपुरको एकान्तकुना घर भएकी उहाँ जाउलाखेलमा व्यापार गर्नुहुन्छ । उहाँले हाँस्दै थप्नुभयो संविधान आउँदैछ भन्छन् तर कस्तो संविधान आउने हो थाहा छैन । पुरानो सरकारले बनाएका पाटीपौैवा धारा पुराना भए संविधानले यसलाई नयाँ बनाउनुपर्छ भन्ने उहाँको विचार छ ।
बारा घर भएका शिवशंकर गुप्ता पनि ललितपुरमा फलफूलको व्यापार गर्नुहुन्छ । उहाँ संविधान जारी हुँदा खुसी लागेको भएपनि सवैको माग पूरा नहुँदा दुःखी बनाएको बताउनुहुन्छ । ‘संविधान आएर के होला सबैलाई राम्रो भए हामीलाई पनि राम्रो होला नराम्रो आए नराम्रै हुन्छ । हाम्रो माग यति मात्र हो काम गरेर खान दिनुपर्‍यो, जहाँ गएपनि शान्तिसँग हिड्न पाउनुपर्‍यो, हामी नागरिकलाई के चाहिन्छ र ? बाटोघाटो, पानी, बिजुलीबत्ति अरु के भनौं । सरकार र संविधानले नागरिकलाई लाउँन खान दिने होइन, आफ्नो कर्तव्य गर्ने हो कमाउने हो खाने हो यति मात्र सहज भए पुग्छ ।’
http://ujyaaloonline.com/

Post a Comment

 
Top