२७ असार, बुटवल । एसएलसी परीक्षाको नतिजामा परिक्षा नियन्त्रण कार्यालयको लापरवाही भएको खुलासा भएको छ । रुपन्देहीको फर्साटिकर उच्च मावि परिक्षा केन्द्रबाट परिक्षा दिएका ७ विद्यालयका परिक्षार्थीहरुको सामाजिक शिक्षाको विषयमा स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्राप्तांक राखी परिक्षाफल सार्वजनिक गरिएको रहस्य खुलेको हो । सामाजिक शिक्षा र स्वास्थ्य जनसंख्या तथा वातावरण विषयमा समान अंक आएकाले विद्यालयले सामाजिक विषयको नतिजाकोे पुनरगणना (रिटोटलिङ) गर्न निवेदन दिएपछि अहिले सच्चाएर आएको दूर्गा शैक्षिक गृहका प्रबन्ध निर्देशक राजन ज्ञवालीले बताए । उनका अनुसार सामाजिक शिक्षाको प्राप्तांक दिनुपर्नेमा स्वास्थ्य जनसंख्या तथा वातावरण विषयमा पाएको अंकलाई सिधै ‘कपी’ गरी विद्यार्थीलाई अंक दिएकाले गलत भएको भन्दै परिक्षा नियन्त्रण कार्यालयले सच्चाएर पठाएको हो । अंक सच्चाएपछि दूर्गा शैक्षिक गृहबाट यस अघि सामाजिक शिक्षामा ६८ अंक ल्याएकी दिक्षा नेपालको अहिले ८८ अंक पुगेको छ । योसंगै उनको प्रतिशत ८९ दशमलव ६० बाट बढेर ९२ दशमलव १३ प्रतिशत पुगेको छ । प्याव्सन रुपन्देहीका अध्यक्ष सुदिप केसीले फर्साटिकर उच्च मावि परिक्षा केन्द्रबाट एसएलसी परिक्षामा सहभागि ७ वटा विद्यालयलको नतिजामा परिक्षा नियन्त्रण कार्यालयको लापरवाहीले गर्दा समस्या भोग्नु परेको बताए । दूर्गा शैक्षिक गृहका विद्यार्थीको अंक सच्चाएर आइसकेको र अन्य विद्यालयले निवेदन दिने कार्य भैरहेकाले अन्य विद्यालयका विद्यार्थीको पनि लब्धांक पत्रमा अंक हेरफेर हुने देखिएको छ । फर्साटिकर उच्च मावि परिक्षा केन्द्रमा रुपन्देहीको तिनाउ पश्चिमका विद्यालयहरु दूर्गा शैक्षिक, तिलोत्तमा, मदरल्याण्ड, नेपाल एभरग्रिन, लिटिल फ्लावर, ड्रिम भिजन र सिद्धार्थका विद्यार्थीहरुले परिक्षा दिएका थिए ।

Post a Comment

 
Top