धादिङ, साउन २७ – धादिङ मलेखुको माछा सबैको स्वादीलो लाग्छ । मलेखुको माछा सम्झिने बित्तिकै माछाका पारखीको मुख रसाउँछ । त्रिशुली नदीमा पाइने माछाको स्वादमा रमाउनु मलेखु आउनेहरुको धोको नै हुन्छ । मलेखु आउने धेरैले स्थानीय खोलाको माछा चाख्न पाउँछन् । मलेखुमा आफैले माछा मारेर खाने चलन भने चलेको छैन । तर यहाँका बालबालिका त्रिशुली नदीमा माछा मार्ने र खाने कुरालाई रमाइलोको रुपमा लिने गर्छन् । काठमाडौंबाट ७० किलोमिटरको दुरीमा रहेको मलेखु र यसको छेउमा रहेको त्रिशुली नदी सबैको आकर्षणको केन्द्र बन्दै छ । विदाको बेलामा बालबालिकाहरु गर्मी छल्न नदीमा नुहाउने र माछा मारेर बेलुका यही माछासँग खाना खाने गर्छन् । पानी धमिलो भएको बेला धेरै माछा पाइने भएकोले उनीहरु निरन्तर यस क्षेत्रमा माछा टिप्ने र पौडी खेल्ने गरेको दृष्य देखिन्छ । कतिले माछा मारेर बाहिरबाट आउनेलाई बिक्री गर्ने गर्छन् भने कतिले आफै खान्छन् ।

Post a Comment

 
Top