बागलुङ, साउन २४ – जिल्ला टुक्र्याएको भन्दै बागलुङमा बन्द आव्हान गरिएको छ । सर्वदलीय सर्वपक्षीय संयुक्त वैठकले वन्द आव्हान गर्ने निर्णय गरेको हो । जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन शिकार आरक्षलाई अलग्याउने लगायतका योजनावद्ध हिसावले रातारात षड्यन्त्र गरी टुक्राएकाले आन्दोलनमा उत्रिन बाध्य भएको वैठकमा सहभागी नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभयो ।

बन्दका कारण यातायात, शिक्षण संस्था, बजार, उद्योग व्यवसाय सवै ठप्प बनेका छन् । स्थानीयको चाहना र भावना विपरित व्यक्ति विशेष या राजनीतिक स्वार्थ पूर्तिका लागि यस्तो निर्णय गरिएकाले जिल्लाबासीलाई मान्य नहुने नेपाली कांग्रेस बागलुङका सभापति जगदिशचन्द्र उपाध्यायले वताउनुभयो । मुख्य दल र शीर्ष तहबाट यो निर्णय नसच्चिए सम्म वन्द लगायतका कठोर आन्दोलनका कार्यक्रम जारी रहने नेतारुले बताएका छन् ।
दलहरुबीच भएको सहमतिमा टुक्रिएका बागलुङ जिल्लाको पूर्वी भाग प्रदेश ४ र पश्चिम भाग प्रदेश ५ मा राखिएको छ । प्रदेश निर्माण जस्तो संवेदनशिल विषयमा नेताहरुले जिल्लाका सभासद र नेताहरुसँग कुनै छलफल नगरी रातारात जिल्ला टुक्रयाउनु आपत्तिजनक रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद चित्रवहादुर केसीले बताउनुभयो ।

Post a Comment

 
Top