काठमाडौँ, साउन ३० । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताएका छन् । एक्टिभिस्ट नेपालले आज बिहान आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने,“सबै नेपालीको भावना समेटिने गरी छ प्रदेशको अवधारणा ल्याइएको हो, सीमाङ्कनको विषयमा कतिपय जिल्ला र क्षेत्रको असन्तुष्टि बढेको छ, त्यसका लागि विशेष समितिको बैठक पनि बस्दैछ, जनचाहनाबमोजिम सीमाङ्कनको प्राविधिक कुरा मिलाउन सकिन्छ तर प्रदेशको सङ्ख्या परिवर्तन गर्न सकिन्नँ ।” उनले चाँडो लिखित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरेर सरकारले नेपालका स्रोतको भरपुर उपयोग गरी विकास निर्माणको कामलाई गति दिने बताए । यसैबीच सहरका युवालाई सकारात्मक क्रियाकलाप र विकास निर्माणमा अभिप्रेरित गर्ने उद्देश्यले एक्टिभिस्टले ‘सुरक्षित सहर अभियान’ सुरु गरेको छ । अभियानको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशका ४० प्रतिशतभन्दा बढी युवा शक्तिलाई स्वदेशमा उपयोग गर्ने वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए । अभियानका संयोजक मोतीलाल लामाले युवालाई विदेश पलायन रोक्न र समाजमा रचनात्मक कार्यमा लगाउने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिए । सो अवसरमा संस्थाका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का विद्यालयबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
- See more at: http://zestkhabar.com

Post a Comment

 
Top