कास्की, साउन १७ – पहिरोको जोखिममा परेका कास्कीका ग्रामीण बस्तीका बासिन्दाले संरक्षणका लागि जिल्ला भूसंरक्षण कार्यालय कास्कीमा निवेदन दिएका छन् । भूकम्पले चर्किएको जमिन विस्तारै बग्न सुरु गरेपछि वस्ती जोगाइदिन माग गर्दै उनीहरुले निवेदन दिएका हुन् ।
रुपाकोट गाविस—८ निगालेका १६ घर खतरामा परेको भन्दै संरक्षणका लागि निवेदन आएको जिल्ला भूसंरक्षण कार्यालय कास्कीका सूचना अधिकृत विष्णुप्रसाद पोखरेले जानकारी दिनुभयो । निगालेमा वैशाख १२ गतेको भूकम्पले दुई हजार वर्ग मिटरको क्षेत्रफलमा जमिन धाँजा फाटेको थियो । त्यहाँ १६ घर अरु ठाउँमा सार्नुपर्ने अवस्था आउन सक्ने पोखरेलले बताउनुभयो ।
त्यस्तै कास्कीकै भदौरे तामागी गाविस—४ को घाँटीछिनामा पहिरोको जोखिमका कारण १४ घर खतरामा छन् । यस्तै हंसपुरु गाविस—९ को काउरेमा पहिरो बग्न सुरु गर्दा त्यहाँका १८ घर जोखिममा परेको भन्दै स्थानीयबासिन्दाले भूसंरक्षण कार्यालयमा निवेदन दिएका छन् ।
त्यहाँ १५ सय वर्ग मिटर क्षेत्रफलको जमिन खतरामा छ । कास्कीमा सिल्दजुरेको तप्राङ, सल्यान, थुमाकोडाँडाको केउरानी, माझठाना, आर्वाको विजयपूर, धान्दु्रकको चानेखोला, मिजुरेको गोर्जे, दाङसिङको नेपाने, लुम्ले, सार्दीखोला पहिरोको जोखिम क्षेत्र रहेको भूसंरक्षण कार्यालयले जनाएको छ ।
सेती किनारका दुई सय भन्दा बढी घरहरु पनि बाढीको जोखिममा छन् । जिल्लाको सरकारी निकायलाई समस्याबारे पटक पटक जानकारी गराउँदा पनि वस्ती जोगाउन पहल नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

Post a Comment

 
Top