काठमाडौं, भदौ २७ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता र देशलाई होच्याउने कुनै पनि कुरा नेपाली नागरिकलाई सैह्य नहुने बताउनुभएको छ । 

संविधानसभाको बैठकमा ओलीले मधेसका केही मान्छेले उत्ताउला र चर्का कुरा गर्दैमा मधेसी नागरिक उनीहरुको पछि नलाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आन्दोलनका नाममा विखण्डनकारी गतिविधि नगर्न सबैलाई आग्रह गर्नुभयो । 
नेपाल र नेपालीको हित विपरित नारा लगाएर गरिने आन्दोलन कुनै आन्दोलन नै नभएको ओलीले बताउनुभयो । अहिले राष्ट्र विखण्डन, विद्वेषका कुरा गर्ने, प्रहरी देख्यो भने आक्रमण गर्ने काम भइरहेको भन्दै ओलीले भन्नुभयो ‘यी आन्दोलनका माग हैनन्, भौगोलिक अखण्डताविरुद्धका दुष्प्रयास हुन् यसलाई नेपालीले परास्त गर्छन् ।’
लोकतन्त्रमा असहमति हुने भन्दै ओलीले असहमतिलाई सहमतिमा परिणत गर्न सकिने भएकाले संविधानसभा बाहिर रहेका दलहरु पनि सहमतिमा आउनु आग्रह गर्नुभयो । ‘यथोचित माग संवोधन गर्न तयार छौं’ उहाँले भन्नुभयो ‘अहिले छुटेका कतिपय कुरालाई संशोधन गरेर पनि संविधानमा समेट्ने छौं ।’
नागरिकले चुनेको संविधानसभाबाट संविधान जारी गर्नु ठूलो उपलब्धी रहेको भन्दै ओलीले भन्नुभयो ‘अब हामी संविधान जारी गर्ने अन्तिम घडीमा आइपुगेका छौं ।’ 
संघीयता, समावेशी र समानता, नागरिकका मौलिक हक अधिकारलाई अब जारी हुने संविधानले संस्थागत गर्ने ओलीले भन्नुभयो । ‘सबैका माग समेट्न सकिएको छैन, मैरै माग पनि यसमा समेटिएका छैनन्’ संविधान जारी गर्नका लागि लचकताका साथ सहमति गरेको भन्दै ओलीले भन्नुभयो ‘मैंले मेरा माग समेट्नै पर्छ भनें भने संविधान बन्दैन ।’

Post a Comment

 
Top