साउन २२ - नेपाल र भारतको पश्चिमी
क्षेत्रमा ठूलो भूकम्प जाने खतरा बढेको बैज्ञानिकले बताएका छन् । वैशाख १२
गते नेपालमा गएको भूकम्पको शक्ति जमिनमुनी सञ्चित भएकाले पश्चिमी क्षेत्रमा
ठूलो भूकम्प जाने अनुमान गरिएको बिबिसीले जनाएको छ ।
वैज्ञानिकका अनुसार १२ गतेको भूकम्पको सबै
शक्ति बाहिर नआएको र त्यो जमिनमुनिबाटै पश्चिमतिर सरेको छ । उनीहरुले
पृथ्वीको सतहमुनिको केही शक्ति पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ
सरेको बताएका छन् । भर्खरै गरिएको अनुसन्धानले यो क्षेत्रमा मुख्य भूकम्प
जान बाँकी रहेको देखाएपछि अब नेपाल र भारतको पश्चिमी क्षेत्रमा थप
अनुसन्धान आवश्यक भएको बैज्ञानिकले बताएका छन् ।
नेचुरल जियोसाइन्स एण्ड साइन्स नामक
जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी
दिएका हुन् । तर कहिले र कति ठूलो आउने भन्ने यकिन गर्न नसकिने उनीहरुले
बताएका छन् । क्याम्ब्रिज युनिभर्सिटिका प्रोफेसर जिन फिलिप्पी एभोउसले
ठूलो भूकम्प जान्छ भनेर कसैलाई पनि तर्साउन नखोजेको तर आफूहरु बसिरहेको
ठाउँ मुनि अत्यन्तै धेरै शक्ति सञ्चित भईरहेकाबारे जान्नु आवश्यक रहेको
बताउनुभयो । उहाँले भन्नुभयो –‘यस क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि आज
भूकम्प आउने हो भने घना बस्तीको कारण नै हुनेछ । त्यसले पश्चिमी नेपालमा
मात्रै नभएर उत्तरी भारतको गङ्गा मैदानमा पनि ठूलो क्षति गर्नेछ ।’
बैज्ञानिकका अनुसार वैशाखको भूकम्प भारतीय
प्लेट र युरोसियन प्लेट भनिने दुई भौगर्भिक क्षेत्रहरुबीच घर्षण हुँदा
पैदा भएको हो । यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुई
सेन्टिमिटरले उत्तरतिर सरिरहेको हुन्छ ।
प्रोफेसर एभोउसका अनुसार वैशाख १२ गतेको
भूकमपका कारण हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो
भूकम्प आउने संभावना बलियो हुन्थ्यो । सन् १५०५ मा हिमालयक्षेत्रमा ८.५
रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । अहिले त्यता सरेको दवावले पाँचसय
वर्षभन्दा बढी समयदेखि त्यहाँ सञ्चित भएको शक्तिमाथि थप दबाब थप्न सक्ने
उनीहरु बताउँछन् ।
ओपन युनिभर्सिटी, युकेका प्रोफेसर डेभिड
रथरीले पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका विद्यालयमा भूकम्प
आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर उनीहरुको ज्यान जोगाउन सकिने
बताउनुभयो । यस्तै भूकम्प प्रतिरोधी विद्यालय भवन बनाएर पनि सुरक्षित हुन
सकिने उहाँको भनाई छ ।
Post a Comment