सिन्धुली, साउन २२ - लगातार दुई दिनदेखि
परेको बर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको हैबारमा पहिरो
खस्ने क्रम नरोकिएपछि यातायात सेवा अबरुद्ध भएको छ । बर्षाका कारण साउन २०
गते रातीदेखि बग्न सुरु गरेको पहिरो अहिले पनि नरोकिएको ईलाका प्रहरी
कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ ।
राजमार्ग अबरुद्ध हुँदा सिन्धुलीको पूर्वी
क्षेत्रसहित खोटाङ्, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, रामेछाप जिल्ला
प्रभावित भएको छ । काठमाडौंबाट पूर्वतर्फ छुटेका गाडीलाई खुर्कोटमा र
पूर्वबाट काठमाडौं छुटेका गाडीलाई सिन्धुलीकै ग्वाल्टारमा प्रहरीले रोकेर
राखेको छ । आफ्नो गन्तव्यमा हिँडेका सयौं यात्रु बीच बाटोमा नै अलपत्र
परेका छन् ।
पहिरोले हिजो एउटा मोटर साईकल र ईण्डियन
कारलाई पुरेको र स्काभेटर प्रयोग गरी निकालेर पठाईएको ईलाका प्रहरी
कार्यालय खुर्कोटका प्रहरी नायब निरीक्षक राजेन्द्र न्यौपानेले उज्यालोलाई
जानकारी दिनुभयो । यात्रु भने भाग्न सफल भएकाले मानवीय नभएको उहाँको भनाई छ
।
अब मौसममा सुधार आई पहिरो खस्न रोकिएपछि मात्रै राजमार्ग खुलाउन सकिने प्रहरीले जनाएको छ ।
Post a Comment