उदयपुर, साउन ५ – संविधानको प्रारम्भिक मस्यौदा सुझाव संकलनमा अवरोध पुर्‍याउन खोज्ने १५ जनालाई उदयपुर प्रहरीले मंगलबार कार्यक्रम स्थलबाट पक्राउ गरेको छ ।

सदरमुकाम गाईघाटको सिटीहलमा कार्यक्रम सञ्चालनका क्रममा मस्यौदा च्यातेर नाराबाजी गर्न थालेपछि प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेकपा माओवादी विप्लव समुह, एकीकृत नेपाल कम्युनिष्ट पार्टी र राप्रपा नेपालका कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वैद्य माओवादीका जिल्ला सेक्रेटरी कुशल कार्की, सदस्यहरु लक्ष्मण पौडे्ल, काजिमान लामा, मानबहादुर दनुवार, बाबुराम शर्मा, नइन्द्र राई, नेकपा माओवादी विप्लव समुहका जिल्ला इनचार्ज केदार राई तथा लिलबहादुर बिक रहेका छन् ।
यस्तै राप्रपा नेपालका जिल्ला अध्यक्ष दत्तनारायण केसी तथा निरबहादुर खड्का, एकबहादुर कार्की, केशव खड्का, श्याम कार्की, एकीकृत नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अमर परियार, पूर्ण तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कार्यक्रम सुरु हुनसाथ हुलहुज्जतकासाथ सभाहल भित्र प्रवेश गरेका उनीहरुले नाराजुलुस गर्दै मस्यौदा च्यातेर कार्यक्रममा अवरोध गरेपछि पक्राउ गरिएको प्रमुख एसपी टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कार्यक्रम स्थल बाहिर लोकतान्त्रिक चौकमा कोणसभाको आयोजना गरी विरोध प्रर्दशन गरेको छ । राप्रपा नेपालले हिन्दु राष्ट्र कायम गरिनु पर्ने, संवैधानिक राजसंस्था कायम गर, धर्मनिरपेक्षता खारेजी हुनु पर्ने माग राख्दै नाराजुलुस गरिरहेको छ । केहीबेरको अवरोधका बाबजुद कार्यक्रम चलेको छ ।

Post a Comment

 
Top