महेन्द्रनगर, साउन २३ -  सुदुरपश्चिम एउटा पक्षको आमहडताल नसकिंदै अर्को पक्षले पनि आमहडताल गर्दा नागरिकले सास्ती खेप्नु परेको छ । सुदूरपश्चिमबाट कैलाली टुक्र्याउने षडयन्त्र भइरहेको भन्दै अखण्ड सुदूरपश्चिम पक्षधरले गरेको आमहड्ताल नसकिँदै थारु समुदाय सम्बद्ध संघसंस्था तथा राजनीतिक दलहरूले कञ्चनपुर र कैलालीलाई थारु प्रदेशमा राखिनुपर्ने माग गर्दै आमहड्ताल सुरु गरेका छन् । 
कञ्चनपुर र कैलालीलाई सुदूरपश्चिमका पहाडी ७ जिल्लाबाट अलग्याउनुपर्ने माग थारु अगुवाले माग गरेका छन् । यसअघि भएका आन्दोलन र सहमति विपरीत कञ्चनपुर र कैलालीलाई पहाडी जिल्लासँग जोड्न खोजिएपछि आन्दोलन स्वरुप आमहड्ताल गरिएको थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य कीर्तिबहादुर थापा मगरले बताउनुभयो । कञ्चनपुरमा क्रियाशील ९ वटा राजनीतिक दल र १९ वटा अधिकारवादी संगठनले कञ्चनपुर र कैलालीलाई थारु प्रदेशमा राख्न माग गर्दै विज्ञप्ति निकालेका छन् । 
अखण्ड सुदूरपश्चिम पक्षधरले हिजोदेखि गरेको अनिश्चितकालीन सुदूरपश्चिम बन्दले जनजीवन प्रभावित भएको छ । बन्दका कारण आज पनि महेन्द्रनगरबाट लामो दूरीका कुनैपनि गाडी नछुटेको महाकाली सेती बस व्यवसाय समितिले जनाएको छ । बन्दलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएपी अविनारायाण काफ्लेले जानकारी दिनुभयो । 

Post a Comment

 
Top