काठमाडौं, असोज २ - नयाँ संविधान घोषणा हुने समारोहलाई भव्य बनाउन आवश्यक तयारी भैरहेको संविधानसभा सचिवालयले जनाएको छ । शुक्रबार संविधानसभामा कायम ५ सय ९८ सभासदमध्ये ५ सय ३७ सभासदको हस्ताक्षर सहित संविधान 

प्रमाणिकरण भएको छ । आइतबार बेलुकी ५ बजे संविधान घोषणाको तयारीका लागि सचिवालयले विशेष तयारी गरिरहेको छ ।  कार्यक्रममा आमन्त्रण गरिएका सबै अतिथि, विशिष्ट अतिथि र नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई निमन्त्रणा पठाइसकेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । 
सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले समारोहमा उपस्थित हुन राष्ट्रपति डाक्टर रामवरण यादवलाई निमन्त्रण गरिसक्नुभएको छ । राष्ट्रपति डा. यादवले संविधान जारी भएको घोषणा गरेपछि सभाध्यक्ष नेम्वाङले संविधान निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिने कार्यक्रम छ । 
समारोहमा राष्ट्रपतिको कुनै पनि सम्बोधन नभएपनि नियमावलीअनुसार नै तोकिएको भाषामा राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्नुहुने संविधानसभा सचिवालयले जनाएको छ । राष्ट्रपतिले संविधान सार्वजनिक गरेपछि नेपालको अन्तरिम संविधान २०६३ स्वतः खारेज हुन्छ र त्यतिखेरदेखि नै नयाँ संविधान जारी हुन्छ । 

संविधान जारीपछि रात्रीभोज

सभाध्यक्षको धन्यवाद ज्ञापनपछि सबै अतिथि स्वागतका लागि सभाध्यक्षले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । विशिष्ट समारोहमा उपस्थित सबै अतिथिलाई उपहारका रुपमा सचिवालयले ‘नेपालको संविधान, २०७२’ प्रदान गर्ने कार्यक्रम पनि छ । 
संविधानसभा भवन परिसर विभिन्न रङ्गीचङ्गी फूल तथा हरियाली, पानीको फोहरा, ध्वजापताकाले सिँगारिएको छ । लामो समयसम्म सङ्घीयता, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीको बहसमा अल्झिएका प्रमुख दलहरू वैशाख १२ को भूकम्पपछि गएको जेठ २५ गते १६ बुँदे सहमति गर्दै संविधान निर्माण प्रक्रियामा अघि बढेको थिए । 
संविधान लेखनमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत अन्य साना दल पनि सहभागी छन् भने मधेस केन्द्रित सबै दल सीमाङ्कनको विषयमा असन्तुष्टि जनाउँदै प्रक्रियाभन्दा बाहिर छन् । झन्डै छ दशक लामो नेपाली जनताको आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने सपना पूरा हुन लागेको क्षणमा सभासद्का साथै नागरिकमा खुसी छाएको छ ।

Post a Comment

 
Top