भक्तपुर, साउन २१ - मध्यपुरथिमी नगरपालिकामा दुई जना कार्यालय प्रमुख भएपछि यहाँका कर्मचारीलाई समस्या परेको छ । तीन महिनाको विदामा बसेका कार्यकारी अधिकृत फर्केर आएपछि यस नगरपालिकामा साउन ६ गतेदेखि दुईजना कार्यकारी अधिकृतले हाजिर गरेर कार्यालय संचालन गरेपछि कर्मचारीलाई समस्या परेको हो ।
मध्यपुरथिमी नगरपालिकामा अहिले पुराना कार्यकारी अधिकृत मित्रमणि पोखरेल र नयाँ कार्यकारी अधिकृत कृष्णप्रसाद धिताल दुबैले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
गत माघ १५ गते घरयासी विदा लिएर अमेरिका गएका कार्यकारी अधिकृत मित्रमणि पोखरेल विदा सकेर गत ६ गते नगरपालिकामा हाजिर हुन आएपछि यहाँ दुईजना कार्यालय प्रमुख भएका हुन् ।
पोखरेल अमेरिका गएपछि स्थानीय विकास मन्त्रालयले गएको माघ २६ गते मध्यपुरथिमी नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा अञ्जन न्यौपानेलाई काजमा पठाएपनि चैतभरी काम गरेका न्यौपानेको पनि मन्त्रालयको सरुवा गरेको थियो ।
महाभूकम्प पछि बैशाख १४ गतेबाट मन्त्रालयले अर्को व्यबस्था नभएसम्म हाजिर भएकै ठाउँबाट तलबभत्ता बुझ्ने गरि धिताललाई नगरपालिकाको कार्यकारी अधिकृत बनाएर पठाएपछि हाल एउटै नगरपालिकामा दुईजना कार्यालय प्रमुख रहेका हुन् ।
एउटै कार्यालयमा दुईजना प्रमुख भएपछि कार्यालय प्रमुखदेखि कर्मचारीसम्मलाई समस्या परेको कर्मचारी बताउँछन् । नगरपालिकाको कार्य धितालले गर्ने गरेपनि पोखरेले आएर हाजिर गर्ने र केही घण्टा बसेर फर्कने गर्नुभएको नगरपालिका प्रशासनले जानकारी दिएको छ ।
मन्त्रालयले तत्कालै नगरपालिकाको दुईजना कार्यालय प्रमुखको समस्या हटाएर एकजनालाई मात्र राख्न माग गरेका छन् ।
Post a Comment