भक्तपुर, साउन १७ – पर्यटकीय नगर भक्तपुरमा भूकम्पले भत्काएको घरका भग्नावशेष थुप्रिएर कुरुप बनेको छ । नागरिकले भत्किएको घरको भग्नावशेष सडकमा थुपार्ने तर नगरपालिकाले त्यसलाई नउठाउने गर्दा भक्तपुर नगर कुरुप बन्नुको साथै पर्यटकदेखि स्थानीय बासिन्दा समेतले सास्ती खेप्नु परेको छ ।
भक्तपुरको पर्यटकीय क्षेत्र दरबारस्क्वायको गेट अगाडि नै महिना दिनदेखि थुपारिएको भग्नावशेष हटाएको छैन भने नासमनादेखि वंशगोपाल, सुकुलढोका, दत्तात्रय हुँदै सूर्यमढीसम्मको मुख्य सडक र अन्य भित्री सडकमा समेत महिना दिनदेखि नै 
भग्नावशेष थुपारिएपछि भक्तपुर नगरभित्रका बाटोहरु बन्द भएका छन् । दरबारस्क्वायरको गेट अगाडिको खौमामा थुपारिएको भग्नावेशले व्यापार व्यावसायमा समेत निकै समस्या आएको रेडिमेड पसल गर्ने चण्डेश्वरी जतिले गुनासो गर्नुभयो ।
दरबारस्क्वायको गेट अगाडि किराना पसल सञ्चालक सुशील भद्राले भक्तपुर नगरपालिकाले गएको एक महिनादेखि भग्नावशेष नउठाउँदा विदेशी पर्यटकदेखि स्थानीय बासिन्दा र विद्यार्थीलाई समेत आवतजावतमा निकै कठिनाई भएको बताउनुभयो । नगरपालिका कार्यालय मै गएर स्थानीय बासिन्दाले पटक पटक भग्नावशेष उठाउन भन्दा पनि नगरपालिकाले बेवास्ता गरेको नासमनाकी सपना सुवालले गुनासो गर्नुभयो । 
पर्यटकसँग नगरपालिकाले वर्षमा २० देखि २५ करोडसम्म उठाउने गरेपनि भग्नावशेष थुप्रिएको पर्यटकीय क्षेत्रमा पर्यटकलाई सास्ती दिईरहेको क्यूरियो सामानका व्यापारीहरु बताउछन् । कमलविनायकबाट बंशगोपाल आउनु भएकी पार्वती छुस्यावागले भग्नावशेष थुपार्दा सडकभरी भएको हिलोले ६ ठाउँमा लड्दै आउनु परेको गुनासो गर्नुभयो ।
भक्तपुरका मुख्य सडकदेखि गल्लिका सडकमा थुपारिएको पहाड जत्रो अग्ला भग्नावशेष हटाउन नगरपालिकालाई बजेट अभाव हुँदा समस्या परेको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले बताउनुभयो । सरकारको नीतिका कारण पनि समस्या परेको उहाँको भनाई छ ।

Post a Comment

 
Top