म्याग्दी, साउन ३२ – आफ्ना कलिला बालबालिकाले अध्ययन गर्ने विद्यालय गाभ्नेबारेमा तिनका अभिभावकलाई जानकारी नै नदिइएको भन्दै अभिभावकहरुले आइतबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् । विद्यार्थीको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने अभिभावकलाई खबरै नगरिकन म्याग्दीको बराङ्जा–६ खानीगाउँमा सञ्चालित मण्डली प्राथमिक विद्यालयलाई महेन्द्ररत्न निमावि थर्पुमा गाभिएको भन्दै आक्रोशित अभिभावकले जिल्ला शिक्षा अधिकारीकै कार्यकक्षमा पुगेर धर्ना दिएका हुन् ।  विद्यालयका प्रधानाध्यापक दिनेश पुनले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र समुदायलाई थाहै नदिई एकतर्फी ढङ्गले आफ्नो विद्यालय अर्को विद्यालयमा गाभेको अभिभावकहरुको भनाई छ । शिक्षा निर्देशिकामा उल्लेख नीति नियम पूरा गरेको र भौतिक पूर्वाधार हुँदाहुँदै प्रअ, स्रोतव्यक्ति र जिल्ला शिक्षा अधिकारीको एकलौटी निर्णयका आधारमा विद्यालय गाभिएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद तुलाचनले बताउनुभयो । 
चलिरहेको विद्यालय एकाएक अर्कोमा गाभिएपछि विद्यालयमा अध्ययनरत बालबालिकाहरु बिचल्लीमा परेका छन् । कुनै पनि विद्यालय अर्कोमा गाभ्नका लागि विद्यार्थी संख्या २० भन्दा कम हुनुपर्ने र भौगौलिक अवस्था मिलेको हुनुपर्छ तर मण्डलीमा विद्यार्थी संख्या १८ छ भने अर्को विद्यालयमा पुग्न त्यहाँबाट भौगोलिक हिसाबले विकट ठाउँमा पर्ने अभिभावकहरु बताउँछन् ।
विद्यार्थी संख्या न्यून भएका र भौगोलिक अवस्था मिलेका अन्य विद्यालय नगाभिएको तर, आफ्नो विद्यालयमा सेवासुविधा हुँदाहुँदै पनि धर्ना दिनुपरेको शिक्षक सूर्यमान छन्त्यालले गुनासो गर्नुभयोे । ३, ४ वर्षका बालबालिकालाई १ घण्टाभन्दा बढीको दूरीमा पढ्न जाऊ भन्न नसकिने बताउँदै अभिभावकले यसमा जिशिकाको गैरजिम्मेवारीपन देखिएको आरोप लगाए ।
अभिभावकको धर्ना र मागलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला शिक्षा अधिकारी दिलिपकुमार ठाकुरले अब छिट्टै विद्यालयको अनुगमन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कार्वाही गर्ने बताउनुभयो । उहाँले स्थानीयको आवश्यकतालाई पूरा गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

Post a Comment

 
Top