काठमाडौं, साउन २७ – बुधबार चिडियाखाना घुम्न जाने धेरैले आज हात्ति दिवस रहेछ भन्ने थाहा पाए । सरकारीस्तरबाट कुनै कार्यक्रम नभएपनि बुधबार चिडियाखानामा हात्ति दिवसको अवसरमा विशेष कार्यक्रम भयो । चिडियाखानामा रहेको 

एक मात्र हात्तिलाई चिटिक्क पारेर सिँगारिएको थियो । सिँगारिएको हात्ति हेर्न अवलोकनकर्ताको घुईंचो लाग्यो । नजिकै गएर उनीहरुले हात्तिलाई छोए । अजंगको हात्तिसँगै उभिएर फोटो खिचे । सुम्सुम्याए र खाना खुवाए । ‘हात्तिको महत्वबारे सबैलाई जानकारी गराउन हामीले विशेष कार्यक्रम गरेका हौं ।’ चिडियाखानाकी व्यवस्थापक सरिता ज्ञवालीले भन्नुभयो । चिडियाखानामा रहेको एक मात्र हात्तिको नाम पवनकली हो । २०३७ सालमा चितवन राष्ट्रिय निकुञ्जबाट ल्याउँदा पवनकलीको उमेर ३० वर्षको थियो । अहिले पवनकली ६५ वर्ष भैसकेकी छ । बुढी भएपनि पवनकलीको जाँगर हराएको छैन । 
बेलाबेला उपत्यकाका बिभिन्न ठाउँमा पुगेर आफ्नो लागि घाँसको डाला ल्याउने र चिडियाखानामा आउनेलाई बोकेर रमाइलो गर्ने काम गरिरहेकी छे । ४ हजार ६ सय ८० किलो तौलकी पवनकली चिडियाखानाको आकर्षक जनावर पनि हो । यो हात्ति चिडियाखानाबाट सडकमा निस्कँदा समेत हेर्नेहरु धेरै हुन्छन् । 

Post a Comment

 
Top