काठमाडौं, साउन २७ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीट हेरेपछि धेरै नेपालीले थाहा पाए, आज प्रधानमन्त्री सुशील कोइरालाको जन्म दिन रहेछ । अझ कतिले त आफ्नो जन्मदिन पनि मोदीले सम्झाइदिनुपर्ने कस्ता प्रधानमन्त्री भनेर टिप्पणी गर्नसमेत भ्याए । तर वास्तवमा प्रधानमन्त्री कोइरालाको जन्मदिन आज होइन, भोलि अर्थात साउन २८ गते हो ।
जन्मदिनको अघिल्लो दिन नै मोदीको शुभकामना आएको भन्ने सुनेर प्रधानमन्त्री कोइराला पनि छक्क पर्नुभएको छ । ‘आफ्नो जन्मदिन भोलि हो भन्ने कुरा उहाँलाई पनि याद छ, तर आजै मोदीको ट्वीट आएछ’ प्रधानमन्त्रीका एकजना सहयोगीले भने, ‘उहाँले अंग्रेजी तारिख अनुसार शुभकामना दिनुभएको होला, तर प्रधानमन्त्रीले चाहिँ भोलि मनाउनुहुन्छ जन्मदिन ।’
Birthday wishes to Nepal PM Shri Sushil Koirala. He is a veteran leader with great political experience. I wish him long life & good health— Narendra Modi (@narendramodi) August 12, 2015
उनका अनुसार आफ्नो जन्मदिनमा प्रधानमन्त्री कोइरालाले खासै केही उल्लेखनीय कार्यक्रम गर्नुहुन्न । ‘त्यसरी मनाउने चलन नै छैन, ए आज जन्मदिन भनेर सम्झनुहुन्छ त्यति हो ।’ उनले भने । तर मोदीले ट्वीटरमा शुभकामना दिएपछि त धन्यवाद भन्नुपर्ने होला नि भन्ने जिज्ञासामा उनले भने, ‘अब यता मनाइसकेपछि भोलि नै रेस्पन्स गर्नुपर्ला ।’
गणतन्त्र नेपालको छैटौं कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री सुशील कोइरालाको जन्म ७६ वर्षअघि विक्रम संवत १९९६ साल साउन २८ गते मोरङको विराटनगरमा भएको हो ।
Post a Comment