काठमाडौं, श्रावण ३२ । ६ प्रदेशको संघीय खाकाप्रति विमति जनाउँदै विभिन्न राजनीतिक र जातीय संगठनले आह्वान गरेको बन्द सोमबार पनि कायमै छ । बन्दका कारण राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ । संघीय समाजवादी फोरम, मोहन बैद्य नेतृत्वको माओवादीलगायत केही दलले गरेको बन्दमा अरु केही संगठनले पनि समर्थन गरेका छन् ।

बन्दको कारण काठमाडौंमा सोमबार पनि यातायातका साधन कमै चलेका छन् भने शैक्षिक संस्था खुल्न सकेका छैनन् । राजधानीका चोक चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
राजधानीबाट बाहिरिने रात्री बसहरु संचालन भएपनि बिहानका गाडीहरु सञ्चालन हुन सकेनन् ।
यस्तै, थरुहट संघर्ष समिति लगायत बिभिन्न समुहको बन्दका कारण सात दिनदेखि पश्चिम तराईको जनजीवन ठप्प बनेको छ । चितवनदेखि कञ्चनपुरसम्मको भूभागलाई थरुहट प्रदेश घोषणा गर्नुपर्ने माग गर्दै गत मंगलवारबाट तराईका २२ जिल्लामा बन्द आह्वान गरिएकोमा अन्य बन्द समेत थपिएको हो ।
बन्दका कारण यी जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । विद्यालय, उद्योगधन्दा, कलकारखाना, बजार ठप्प छन् ।
उता, सिन्धुली जिल्लालाई राजधानी काठमाडौंसहितको तीन नम्बर प्रदेशमै राखिनुपर्ने माग राख्दै सिन्धुलीमा सोमबार चौथो दिन पनि बन्द जारी छ । तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, बारा र पर्सा पनि तीन दिनदेखि बन्द नै छ । यी जिल्लामा पनि बजार, कलकारखाना, यातायात र शैक्षिक संस्था सञ्चालन हुन सकेको छैन ।
उता, संघीय लिम्बुवान पार्टी र संघीय समाजबादी फोरम नेपालले गरेको बन्दले सोमबार दोस्रो दिन पनि अरुण पूर्णका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । चार दलले गरेको ६ प्रदेशसहितको संविधानको खाकाप्रति असन्तुष्ट दल तथा राजनीतिक संगठनहरुले अरुण पूर्वका नौ जिल्ला मात्र भएको प्रदेश बनाउन माग गरेका हुन् ।
बन्दले पूर्वका मोरङ, सुनसरी, झापा, इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा र संखुवासभाको जनजीवन प्रभवित बनेको छ । यी जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् भने बजार, कलकारखाना र शिक्षणसंस्था ठप्प रहेका छन् ।
- See more at: http://imagekhabar.com

Post a Comment

 
Top