जुम्ला, श्रावण ३२ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्र रुप लिएसँगै आइतबार साँझबाट लगाइएको कर्फ्यु सोमबार बिहान एक घण्टा हटाइए पनि दिनभरका लागि जारी राखिएको छ । आइतबार साँझ साँढे पाँच बजेदेखि लगाईएको कर्फ्यु बिहान सातदेखि आठ बजेसम्म हटाइएको थियो । 

नौ दिनदेखिको लगातार बन्द र प्रदर्शनबाट आक्रान्त बनेको जुम्ला सोमबार भने कर्फ्युका कारण शान्त देखिएको छ । सदरमुकाम खलंगामा प्रदर्शनकारी निस्किएका छैनन् भने बजारभरी प्रहरी परिचालन गरिएको छ । नौ दिनदेखिको बन्दले जुम्लामा शैक्षिक संस्था, बजार, कलकारखानासहित हवाई सेवा ठप्प बनेको छ । जिल्लामा खाद्यान्न अभाव देखिएको छ भने सरकारी कार्यालयदेखि जिल्लामा रहेको एकमात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको ओपिडी सेवा बन्द रहेको छ । गाउँगाउँबाट सर्वसाधारण सदरमुकाम आई प्रदर्शन गरेपछि आन्दोलन हिंसात्मक बन्दै गएको थियो ।

विशेष अधिकारसहितको कर्णाली राज्य माग गर्दै आन्दोलन भएको हो । कर्णाली अञ्चलका अन्य जिल्ला हुम्ला, मुग, कालिकोट र डोल्पामा पनि बन्द जारी छ ।
- See more at: http://imagekhabar.com

Post a Comment

 
Top