दैलेख, अछाम र सुर्खेतको जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे काठमाडौं आएका छन् भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए । यसअघि   गएको कात्तिकमा दैलेखको खड्कवाडा जंगलमा भेटेका राउटे काठमाडांै आउनुको कारणबारे उनीहरुलाई नै भेटेर जान्न मन लाग्यो । राउटे भेट्ने संयोग यसरी मिल्यो कि एका बिहानै दैलेखका यज्ञ नामको साथी कार्यालयमै टुप्लुक्क आईपुग्नुभयो । ‘राउटे काठमाडौ आएका छन् रे ! भेट्ने चाँजोपाँजो मिलाउनुपर्यो भनेपछि उहाँले राउटेको बारेमा जानकारी राख्ने दैलेखका पत्रकार भक्तबहादुर शाहीलाई फोन गर्नुभयो ।
अर्को संयोग पनि जुर्यो, पत्रकार भक्त पनि दार्जिलिङतिरको भ्रमण सकेर काठमाडौंमै आईपुग्नुभएको रहेछ । त्यसपछि पत्रकार भक्तबहादुरकै सहयोगमा उनीहरु काठमाडौंको चोभार नजिक सुलक्षण कीर्ति विहारमा बसेका छन् भन्ने पत्ता लाग्यो । भेटेर कुराकानी गर्ने विषयमा राउटेका अगुवाले शुरुमा अन्कनाए । दैलेखकै पत्रकार भक्तबहादुरको आग्रहमा बल्ल चार बजेका लागि समय दिनुभयो र हामी दुवै जना उनीहरुलाई भेट्न सुलक्षण कीर्ति बिहार पुग्यौं ।
काँधदेखि पैतालासम्म ढाक्ने गम्छा ओढेका, शीरमा कालो टोपी र नाङ्गै खुट्टा हिँडिरहेका राउटे देखेपछि मेरो दृष्टि त्यही गएर अडियो । आँगनमा भलाकुसारी गरिरहेका नेपाल मानवतावादी संस्थाका पदाधिकारीसँग एकैछिन पनि नबसी म राउटेसँगै कुरा गर्न लागें । त्यसमध्येका केही परिचित अनुहार मेरो मानसपटलबाट टाढा भागेको थिएन । नजिक पुग्ने बित्तिकै खगिन्द्र शाही मुस्कुराउनुभयो । नजिकै रहेका अर्का दुई जना राउटेले पनि एकोहोरो हेरिरहेपछि मैले कुराकानी गर्ने अनुमति मागें ।
‘तपाईको नाम बताईदिनुहोस् न ! मेरो नाम कपिल बहादुर शाही’ कपिलले आफ्नो नाम मात्र भन्नुभएन मेरो बारेमा पनि सोध्नुभयो ‘तपाईलाई पहिले नै देखेको थिएँ, दैलेखमा आउने बेला’ लामो समयसम्म पनि नबिर्सेकोमा धन्यबाद दिँदै मैले थप कुरा अघि बढाएँ । मलाई लागेको थियो राउटेका मुखिया बाहेक अन्य युवाहरु काठमाडौं आएका छैनन् । तर होइन रहेछ, यसपटक काठमाडौ आएका युवाहरुले पनि यसअघि नै काठमाडौलाई दुई पटकसम्म नियालिसकेका रहेछन् । 
‘काठमाडौमा यसपटक किन आउनुभयो त ? ‘हाम्रो भत्ता आउँदैन भन्ने सुन्यौ, दैलेखको सिडीओसापले यस्तो कुरा गर्नुभएछ, दशैं आउँदैछ खसी किन्नुपर्छ । अनि मन्त्रीहरुलाई भेटेर हाम्रो भत्ता नकटाऊ भन्न आएको’ कपिलले काठमाडौं आउनुको कारण बताउनुभयो । कपिलसँग यत्ति कुरा गरेपछि उमेरले अलि पाको नजिकै बसिरहनुभएका अर्का राउटेसँग कुरा गर्ने निधो गरें ।
यसअघि दुईपटक काठमाडौं आईसक्नुभएका भद्रबहादुर कल्याल ठकुरीले शुरुमै भन्नुभयो ‘सुशील कोइरालासँग भेटेर केही कुरा राख्नुपर्यो भनेर आको ।’ यसअघि राउटेका मुखियाहरुसँग आउँदा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर कुराकानी गरेको प्रसंग निकाल्दै उहाँले सोध्नुभयो ‘प्रचण्ड हिजो आज कहाँ हुनुहुन्छ ?’ ‘काठमाडौमै हुनुहुन्छ’  मैले भनें । भद्रबहादुरले फेरि सोध्नुभयो ‘हिजोआज त्यत्ति नाम सुनिन्न नि ?’ ‘काठमाडौ आएको बेला भेट्न पाए हुन्थ्यो’ उहाँले इच्छा जाहेर गर्नुभयो । 
भद्रबहादुरसँग गफ गरिरहँदा चासोका साथ हाम्रो कुरा सुनिरहेका अर्का राउटेसँग पनि कुरा गर्ने भएँ । त्यसअघि कपिल र भद्रबहादुरसँग कुराकानी गर्दा दुवै जनाले शिव दाईसँग सोध्नु भनेर सुझाउँदै हुनुहुन्थ्यो । आखिरमा शिव दाई त्यही व्यक्ति हुनुहँुदो रहेछ । सायद राउटे युवाले नियमभन्दा बाहिर गएर कुरा गर्लान् कि भनेर निगरानी गरिरहेको हुनुपथ्र्यो शिवले ।
नमस्कार ! मैले कुरा अघि बढाएँ । जवाफमा उहाँले पनि नमस्कारको अभिवादन फर्काउनुभयो । ‘हामीले भत्ता नपाउने भन्ने कुरा सुन्यौं, जंगल पनि काट्न नपाइने, भत्ता पनि नदिने हो भने राउटे कसरी बाँच्न सक्छ ? त्यसैले प्रधानमन्त्री, मन्त्री अनि नेताहरुलाई भेटेर यो सबै माग राख्नु भनेर हामीलाई मुखियाले पठाएका हुन् । मुखिया पछिका हामी नै हौं ।’ उहाँले भन्नुभयो । 
राउटेलाई दैलेखदेखि काठमाडौं ल्याउन नेपाल राउटे विकास संघ र नेपाल मानवतावादी समाज लगायतका संस्थाले पहल गरेका रहेछन् । राउटे विशिष्ट जाति भएकाले नयाँ बन्ने संविधानमा राउटे भन्ने जातिको उल्लेख गर्न सभासद, मन्त्री तथा सभामुखलाई ज्ञापन पत्र बुझाउन आएको नेपाल राउटे विकास संघका अध्यक्ष दानसिं राउटेले बताउनुभयो । दानसिं राउटेका अघिल्लो पुस्ता २०४० सालमै जंगली जीवन त्यागेर अन्य मानिसकै जीवनशैलीमा फर्किएका हुन् ।
डडेलधुरामा बस्दै आउनुभएका दानसिं राउटे स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । दैलेखका खाँटी राउटेले दानसिं राउटेलाई सर भनेर सम्बोधन गर्छन् । प्रधानमन्त्री, अर्थमन्त्री तथा वनमन्त्री लगायतलाई भेट्ने योजना रहेपनि समय तय भइनसकेको अध्यक्ष दानसिं राउटेले जानकारी दिनुभयो ।

Post a Comment

 
Top