काठमाडौं, साउन २१ – १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा भाग लिन नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । २३ जना खेलाडी सहितको टोली यही भदौ २४ अर्थात आउँदो आइतबार देखि भदौ १ गतेसम्म हुने प्रतियोगितामा भाग लिन बंगलादेश गएको हो ।
टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले विदाइ गर्नुभयो । ६ देश सहभागी प्रतियोगितामा नेपाल समुह बीमा छ । नेपाल रहेको समुहमा अफगानिस्तान र माल्दिभ्स छन् । यस्तै समुह एमा डिफेन्डिङ च्याम्पियन भारत, आयोजक बंगलादेश र श्रीलंका छन् । 
पाकिस्तान र भुटानले यो प्रतियोगितामा भाग लिएका छैनन् । नेपालले आफ्नो पहिलो खेलमा साउन २५ गते सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै साउन २९ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल सन् २०११ मा काठमाडौंमा भएको १६ वर्ष मुनिको साफ च्याम्पियनसिपमा तेस्रो भएको थियो भने दोस्रो संस्करणमा दोस्रो भएको थियो । यो पटक नेपाली टोलीको तयारी राम्रो रहेकाले उपाधि जित्नु आफूहरुको लक्ष्य रहेको नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले बताए । नेपाली टोलीको कप्तानी मनिष कार्कीले गर्ने छन् ।

बंगलादेश गएको टोलीमा को को ?

प्रतियोगिताका लागि मनिष कार्कीको कप्तानीमा २३ खेलाडी सहितको नेपाली टोली बंगलादेश गएको छ । टोलीमा गोलकिपरहरु अर्पण कार्की, आकाश राभाट र सन्देश गुरुङ, डिफेन्टरहरु रोमन लिम्बु, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, अनोस मगर, सुमन अर्याल र आशिष केसी छन् ।
यस्तै मिडफिल्डरमा अभिशेख रिजाल, दिवस उराउ, कप्तान मनिष कार्की, सेसेहङ आङदेम्बे, अनिल महर्जन, विकास आले र अशोक थापा छन् । फर्वाडरमा राजिभ लोप्चन, रेजिना सुब्बा, दिनेश हेन्जन, प्रेजेन तामाङ, राजेश परियार र क्षितिज राज जिटी छन् । टोलीमा मुख्य प्रशिक्षक उपेन्द्रमान सिंह, प्रशिक्षक राजेश मानन्धर तथा म्यानेजरमा मधुसुधन उपाध्याय हुनुहुन्छ ।

Post a Comment

 
Top