साउन २३ – इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको नयाँ सिजन शनिबारदेखि सुरु हुँदैछ । सन् २०१४/०१५ को सिजन सकिएको दुई महिना ८ दिनपछि प्रिमियर लिगको नयाँ सिजन सन् २०१५/०१६ सुरु हुन लागेको हो ।
गएको मे २४ मा सन्डरल्याण्डलाई ३–१ ले हराउँदै चेल्सीले ८ अंकको स्पष्ट अग्रतासहित प्रिमियर लिगको उपाधि उचालेसँगै अघिल्लो सिजन सकिएको थियो । सिजन सकिएपछिको यो दुई महिनाको अवधिमा धेरै क्लबले खेलाडी किन्ने र बेच्ने गरेका कारण इंग्लिस फुटबल गतिविधि सक्रिय नै थियो । यस्तै प्रिसिजनको मैत्रीपूर्ण खेलले क्लब तथा
 खेलाडीलाई फुटबलसँग जोडिनै राख्यो । नयाँ सिजन सुरु हुँदा गएको सिजनको उपाधि विजेता चेल्सी जोस मोरिन्होको प्रशिक्षणमा फेरि उपाधि कब्जा गर्ने दाउका साथ मैदान उत्रने छ । यस्तै प्रिमियर लिगका अन्य हस्ति क्लबहरु म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल, टोटनह्याम तथा साउथह्यामटन सहितका टिम पनि उपाधि यात्रामा आफूलाई उभ्याउने प्रयास गर्ने छन् । गएको सिजन चेल्सीले लिगका ३८ खेलबाट ८७ अंक जोड्दै उपाधि जितेको थियो । दोस्रो भएको म्यानचेस्टर सिटीले चेल्सी भन्दा ८ अंक कम ७९, तेस्रो भएको आर्सनलले ७५ तथा टोटनह्यामले ६४ अंक जोड्दै पाँचौं स्थानमा रहेर लिग सकाएको थियो । यो सिजन पनि यिनै क्लबबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धा हुने देखिन्छ ।

तीन नयाँ क्लब

गएको सिजनमा अंक तालिकाको पुछारमा रहेका तीन क्लब रेलिगेशनमा परेपछि यो सिजन तीन नयाँ क्लबले प्रिमियर लिगमा प्रवेश पाएका छन् । गएको सिजन हल सिटी, बर्नली र क्युपिआर रेलिगेशनमा परेका थिए । यो सिजनमा वाट्फोर्ड, बोर्नमाउथ र नर्विचले प्रिमियर लिगमा प्रवेश पाएका छन् । 
सन् १९०२ मा स्थापना भएको एक सय १३ वर्ष पुरानो क्लब नर्विच सिटीका लागि प्रिमियर लिग नयाँ अनुभव होइन । नर्विच सन् २०१३/१४ को सिजनमा रेलिगेशनमा परेर फेरि यो सिजन प्रिमियर लिगमा फर्किएको हो ।
अर्को क्लब वाट्फोर्डका लागि पनि प्रिमियर लिगको यात्रा नयाँ भने होइन । सन् १८८६ मा स्थापना भएको १ सय २९ वर्ष पुरानो क्लब वाट्फोर्ड ८ वर्षपछि प्रिमियर लिगमा फर्किएकोहो । वाट्फोर्ट सन् २००७/०८ को सिजनमा रेलिगेसनमा परेर
प्रिमियर लिगबाट बाहिरिएको थियो । बोर्नमाउथका लागि भने प्रिमियर लिगको यात्रा नयाँ अनुभव हो । सन् १८९९ मा स्थापना भएको १ सय १६ वर्ष पुरानो क्लब बोर्नमाउथले पहिलो पटक यो सिजन प्रिमियर लिग खेल्न लागेको हो ।

पहिलो दिन ६ खेल

प्रिमियर लिगको नयाँ सिजनको पहिलो दिन शनिबार ६ खेल हुँदैछन् । यो सिजनको पहिलो खेल म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीच हुनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजेपछि हुने छ ।
यस्तै बुलुका पौने ८ बजे चार खेल हुने छन् । बोर्नमाउथ र एस्टन भिल्ला, एभर्टन र वाट्फोर्ड, लिसेस्टर र सन्डरल्याण्ड तथा नर्विच र क्रिष्टल प्यालेसबीचको खेल बेलुका पौने ८ बजेपछि सुरु हुनेछ ।
 गएको सिजनको उपाधि विजेता चेल्सीले पनि शनिबार नै पहिलो खेल खेल्ने छ । चेल्सीले स्वान्सी विरुद्धको खेलसँगै प्रिमियर लिगको यो सिजनको यात्रा सुरु गर्ने छ । चेल्सी र स्वान्सीबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजेपछि सुरु हुनेछ । 
यो सँगै इंग्लिस प्रिमियर लिगको नयाँ विजेता छान्ने झण्डै १० महिने यात्रा औपचारिक रुपमा सुरु हुनेछ । यो अविधिमा प्रिमियर लिगमा सहभागी २० क्लबले होम एण्ड अवेका पद्दतीमा हरेर ३८ वटा खेल खेल्ने छन् ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top