काठमाडौं, साउन ३१ – भोली साउनको अन्तिम सोमबार । साउनको हरेक सोमबार व्रत बसेर मन्दिरमा पूजा गर्न जाने महिला र बोलबम यात्रीका लागि विशेष दिन । यो दिन शिव मन्दिरमा दर्शनार्थीको घुईंचो लाग्छ । आइतबार जस्तै गाडी चलेन भने भोकै मन्दिर जाने महिला र अरु व्रतालुलाई सोमबार निकै सास्ती हुन्छ ।
संविधानको प्रारम्भिक मस्यौदामा असन्तुष्ट संविधानसभा भित्र र बाहिर रहेका दलहरुले आइतबारजस्तै सोमबार पनि बन्द गर्ने भनेका छन् । आइतबार बन्द गर्दै सडकमा निस्केकाहरुले सोमबार पनि बन्द भनेर प्रचार गरिरहेका छन् । 
तर सोमबारको बन्द फिर्ता होला कि भन्ने धेरैको आश छ । तर बन्दकर्ताले सोमबारको बन्द फिर्ता भनेर भनिसकेका छैनन् । ‘यसबारे कुरा त भएको छ, तर ठ्याक्कै यही हुन्छ भनेर अहिले नभनौं’ बन्दकर्ता दलका एक नेताले भने, ‘बन्द फिर्ता हुन्छ भनेर भन्न पनि सकिंदैन, जनतालाई सास्ती हुने कुरामा बेवास्ता गर्न पनि सकिंदैन ।’
उनका अनुसार सोमबार बन्द भएपनि आइतबारको भन्दा खुकुलो हुन सक्छ । दूध, पानी बोक्ने गाडीलाई जस्तै तिर्थालु बोक्ने गाडीलाई छुट दिन सकिने उनले बताए । ‘तर यो हुन्छ भनेर बैठक बसेर निर्णय गर्नुपर्छ, आइतबार बेलुकी बस्ने बैठकमा यसबारे कुरा हुन्छ’ ती नेताले भने ।
बन्द सधैंको लागि बन्द हुनुपर्छ भनेर माग उठेपनि नागरिकलाई प्रत्यक्ष सास्ती हुनेगरी बन्द गर्ने प्रवृत्ति हटेको छैन । सोमबार त झन् भोकै बस्ने व्रतालुले धेरै कष्ट खेप्नुपर्ने भएकाले बन्द फिर्ता गर्न सबैले माग गरेका छन् ।

Post a Comment

 
Top