कास्की, साउन २९ - कास्कीको लेखनाथ नगरपालिकाका कांग्रेस नेता रामजी पौडेल (बादल) को बिहीबार राति हत्या भएको छ । हत्यामा पार्टीकै कार्यकर्ताको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । लेखनाथ १ बरालथर निवासी पौडेलको घर भन्दा एक किलोमिटर टाढा पृथ्वी राजमार्गमा पर्ने गगनगौंडा नजिकै शव भेटिएको हो ।
पौडेलको टाउको, हात र शरीरका विभिन्न भागमा चोट देखिएकोले आफन्तहरुले हत्या भएको भन्दै घटनाको छानबीनको माग गरेका छन् । बिहान फेला परेको शवको मुचुल्का तयार पारेर अनुसन्धान प्रक्रिया अघि बढाएको कास्की प्रहरीले बताएको छ । पौडेलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले कांग्रेसकै कार्यकर्ता राजु रानाभाटलाई पक्रेको छ भने हत्यामा संलग्न अरुकोे खोजी भैरहेको जनाएको छ ।
नेपाली कांग्रेसका क्रियाशील सदस्य ५२ वर्षका पौडेल शेरबहादुर देउवा पक्षका नेताका रुपमा परिचित हुनुहुन्छ । नेपाली कांग्रेसको अधिवेशन नजिकिरहेको बेला पार्टीका स्थानीयस्तरका कार्यकर्ता जम्मा भएर छलफल र कार्यक्रम गर्ने बेलमा बुधबार तालचोकमा भनाभन भएको र त्यसैको निहुँमा हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । नेपाली कांग्रेस लेखनाथ नगर समिति सभापति राजेन्द्रमणि लामिछानेले बुधबार बेलुका कार्यक्रम गर्ने बेलामा सामान्य विवाद भएको जानकारी दिनुहुदै बिहिबार दिउँसो विवाद मिलाउने भनेपनि नसकेको र राति यस्तो घटना भएको बताउनुभयो ।
यसैबीच, स्थानीय बासिन्दा र आफन्तले पौडेलको हत्या भएको भन्दै दोषी पत्ता लगाई कार्बाहीको माग सहित पृथ्वी राजमार्ग अबरुद्ध पारेका छन् । राजमार्गको गगनगौडा खण्ड बिहानैदेखि अबरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment