साउन २९ - चीनको उत्तरी शहरमा विस्फोट भएको ठाउँबाट एक जनाको जीवितै उद्धार गरिएको छ । १९ वर्षका अग्नी नियन्त्रक झौ ति को उद्धार गरिएको समाचार संस्था सिन्हवाले जनाएको छ । उद्धारमा खटिएका १८ जना अग्नी नियन्त्रक हिजो दिउँसोदेखि हराएकामा एक जनाको जीवितै उद्धार गरिएको हो ।
विस्फोटमा परि अहिलेसम्म १७ जना अग्नी नियन्त्रकसहित ५० जनाको ज्यान गैसकेको चीन सरकारले जनाएको छ । हिजो राती उत्तरी शहर तियान्जिनको बन्दरगहा नजिकै विस्फोटक पदार्थ राखिएको एक गोदाममा अचानक विस्फोट भएपछि लागेको आगो ३६ घण्टा बितिसक्दा पनि अझै निभाउन सकिएको छैन ।
अहिले १ हजार २० जना भन्दा धेरै अग्नी नियन्त्रक र १ सय ४० आगो निभाउने मेसिनले आगो निभाउन कोसिस भैरहेको बिबिसीको खबरमा उल्लेख छ । विस्फोट भएको ठाउँमा रासायनिक पदार्थ जाँच गर्न २०० भन्दा धेरै विज्ञ सहभागी टोलीले हावामा विषालु ग्यास भए नभएको अध्ययन गर्न सुरु गरेका छन् ।
घटनास्थल नजिकैका घरहरु भत्किएका र आकाशमा आगोको मुस्लो अझै पनि देखिएको खबरमा उल्लेख छ । घटनाको कारण भने अझै खुलेको छैन । यसबारे अनुसन्धान भैरहेको चीन सरकारले जनाएको छ ।
Post a Comment