नवलपरासी, साउन २९ - पछिल्लो समयमा लोक  गीत र लोक संस्कृतिप्रति छाडापन भित्रिएको भन्दै लोकदोहोरी क्षेत्रका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन्  । नवलपरासीको गैंडाकोटमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शुक्रबार गरेको बृहत छलफल तथा पत्रकार भेटघाट कार्यक्रममा  लोकदोहोरी क्षेत्रका अगुवाहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । 

राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष  अमर विरही गुरुङ्गले  ज्योति मगरले अभिनय गरेको ‘ढाडे बिरालो’ नामक गीत नेपाली लोक संगीत क्षेत्रमा नसुहाउने खालको भएको टिप्पणी गर्नुभयो । ‘कलाकारहरुले लोक संस्कृति र समुदाय भुल्दा बिकृति भित्रने भएकाले सञ्चार क्षेत्रले त्यसमा खबरदारी गर्न गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘यस्ता  बिकृतिलाई मिडियाले निरुत्साहित गर्नुपर्छ ।’
लोकगीतको क्षेत्रमा नवलपरासी अगुवा समेत रहेको  छ । गण्डकी, धौलागिरी र लुम्बिनीको सबै खालका समुदायको नवलपरासीमा बसोबास भएकाले यो क्षेत्र लोक सस्कृतिमा अगाडि भएको राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका  संस्थापक केन्द्रीय सदस्य हरि न्यौपानेले बताउनुभयो  । नवलपरासीबाटै  २०५७ सालमा तदर्थ समिति बनाएर सुरु गरेको प्रतिष्ठान आज लोकदोहोरीका कलाकारको घर भएकाले यसलाई विर्सन नहुनेमा उहाँको जोड थियो  ।  
‘संख्याको बृद्धिसँगै विकृति भित्रिएको छ, हामीले लोकगीतको कर्म भन्दा विपरित जान खोज्नु हुँदैन ।’ न्यौपानेले भन्नुभयो ‘कतिपय कुराहरु सेन्सर बोर्डमा राखेपनि सुनुवाई नहुँदा समस्या भएको छ ।’  
प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले कलाकारहरुको संरक्षण र प्रोत्साहनमा लागेकाले गल्ती गर्नेहरुलाई पनि सजक बनाउने काम गर्ने बताउनुभयो । 'लोकगीत संस्कृतिका कलाकारहरु यो देशका निधिहुन् उनीहरु त्यहि ठाउँमा बस्न सक्नुपर्छ भन्नेमा हाम्रो जोड छ ।' उहाँले भन्नुभयो ‘असोजको १५ र १६ गते गैंडाकोटमा हामीले साधारण सभा बोलाएका छौं यहाँ घनिभूत छलफल हुन्छ ।’
५६ जिल्ला र ८ अञ्चल प्रतिष्ठानबाट करिब तीन सय लोकदोहोरीका कलाकारहरुले साधारण सभामा भाग लिने छन् । साधारण सभाका बारेमा बरिष्ठ उपाध्यक्ष बद्रि पंगेनी, कोषाध्यक्ष रिता थापा, सहकोषाध्यक्ष दीपक खड्कालगायतका कलाकारहरु ब्यवस्थापनमा खटिएका छन् । 

Post a Comment

 
Top