काठमाडौं, साउन ३२ - उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुर्खेत घटनामा मृत्यु भएका मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गरिने जानकारी दिनुभएको छ । संघीय प्रदेशको सीमांनप्रति असहमति जनाउँदै साउन २५ गते सुर्खेतमा प्रदर्शनमा तीन जनाको ज्यान गएको थियो ।

व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा गृहमन्त्री गौतमले मुलुकमा विभिन्न भागमा घटेका घटनाका बारेमा सदनलाई जानकारी दिने क्रममा सुर्खेतको अवस्था सामान्य बन्दै गएको र सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले साउन २८ गते राति ९ बजे कास्की लेखनाथ नगरपालिका–१३ मा रामजी पौडेल बादलमाथि साङ्घातिक आक्रमण गरेको आशङ्कामा राजु रानाभाट र राजेन्द्रमणि लामिछानेलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
काठमाडौं बबरमहलमा साउन २९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा भेला भएका प्रदर्शनकारीले सवारी साधनमा ढुंगामुढा गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले बाध्य भई बल प्रयोग गर्नुपरेको गृहमन्त्री गौतमले सदनलाई जानकारी दिनुभयो ।
उहाँले नवलपरासीमा थरुहट सङ्घर्ष समितिले गरेको विरोधका क्रममा प्रदर्शनकारीले दुई वटा सवारीमा आगजनी, तोडफोड गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको, ३१ दलले आइतबार गरेको बन्दको सामान्य प्रभाव परेको र जबर्जस्ती बन्द गराई हिँड्नेलाई नियन्त्रणमा लिई छाडिएको अवगत गराउनुभयो ।
गृहमन्त्री गौतमले अप्रिय घटना हुन नदिन सरकार सचेत रहेको चर्चा गर्दै सार्वजनिक सेवा सञ्चालन गराउनु सरकारको दायित्व हो भन्नुभयो । उहाँले भन्नुभयो 'माननीय सदस्य जस्तो गरिमामय पदमा बसेकाले दायित्व बिर्सेर सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिएकोप्रति सरकार गम्भीर छ । हतियार उठाउनेजस्ता चेतावनी दिएको विषयमा संसद्को पनि गम्भीर ध्यान जानेछ ।'

Post a Comment

 
Top