२४ साउन, काठमाडौं । सरकारले आफूहरुलाई विस्थापित गर्ने गर्ने नयाँ ट्याक्सी सञ्चालन गर्ने अनुमति दिएको विरोधमा काठमाडौं उपत्यकामा सञ्चालित ६ हजार ट्याक्सीहरु यातायात ब्यवस्था कार्यालयमा थन्क्याइएका छन् ।  गएको वैशाखमा विनाशकारी भूकम्प गएपछि ब्यवसाय सञ्चालन गर्न चाहने भूकम्पपीडितलाई भन्दै सरकारले दर्ता तर भन्सार महसुलमा छुट दिएर ट्याक्सी आयात गर्न छुट दिएपछि काठमाडौंका ट्याक्सी ब्यवसायीहरु आन्दोलित भएका हुन् । काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी ब्यवसायीहरुसँगै कुनै छलफल नै नगरी नयाँ ट्याक्सी भित्राएर आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै उनीहरुले भाडामा सञ्चालन भइरहेका आफ्ना ट्याक्सीहरु ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा लगेर थन्क्याएका हुन् । आफूहरुले शान्तिपूर्ण रुपमा मन्त्रालयदेखि विभागसम्म ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएकोले ट्याक्सी हड्ताल गरी आन्दोलनमा उत्रिनु परेको स्वस्तिक स्वरोजगार मिनी ट्याक्सी ब्यवसायी संघका अध्यक्ष प्रकाश बस्यालले बताए । ट्याक्सी ब्यवसायीको खानपीन सडकमै ! आफ्ना सबै ट्याक्सीहरु यातायात कार्यालय अघि थन्क्याएर धर्ना कसेका ट्याक्सी ब्यवसायीहरुले कार्यालय अगाडिकै सडकमा खाना पकाएर खाएका छन् । आफ्नो माग नसुनेसम्म कार्यालयमै गाडी थन्क्याएर त्यही खाना पकाएर खाने र त्यही सुत्ने बस्यालले बताए । ब्यवसायीहरुले राजधानीमा सञ्चालनमा रहेका सबै ट्याक्सी लगेर कार्यालय अगाडिको सडकमा थुपारेर धर्ना कसेपछि यातायात कार्यालयको सेवासमेत प्रभावित भएको छ । अहिले सञ्चालनमा रहेका ट्याक्सीको ब्यवस्थापन गरी मिटर जडित बनाइ थप ब्यवस्थापन गरौं भनी आफूहरुले भन्दै आएको पनि बस्यालले बताए । कुनै पनि छलफल र परामर्शबिना आफूहरुलाई विस्थापित हुने गरी नयाँ ट्याक्सी सञ्चालन गरिए कुनै पनि ट्याक्सी चल्न नदिने ब्यवसायीहरुले चेतावनी दिएका छन् । राजधानीका रुटहरुबाहेक कुना कुनामा सञ्चालन हुँदै आएका ट्याक्सीहरु हड्तालमा उत्रिएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । यातायात ब्यवस्था कार्यालयमा दर्ता भएका ६ हजार पाँच सय भन्दा बढी ट्याक्सीहरु काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएका छन् ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top