काठमाडौं, साउन ३१ – मृतकको अंग जीवित राख्ने कानुन अबको एक महिना भित्र ल्याउने तयारी भएको छ । यो कानुन आएपछि अंग प्रत्यारोपणको लागि विदेश जान नपर्ने मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ लाई संशोधन गर्न बनेको विद्येयक २०७२ अन्तिम चरणमा पुगेको छ । अहिले यो विद्येयक संसदमा विचाराधीन छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको जीवित अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न अंग प्रत्यारोपण ऐन २०५५ संशोधन हुन लागेको हो । मस्तिष्क मृत्यु भएकाको अरु अंग त्यसै खेर गइरहेकाले त्यसको सही सदुपयोग गरी अंग प्रत्यारोपण गर्न/गराउन सजिलो होस् भन्ने उद्देश्यले यो कानुन ल्याउन लागिएको हो ।
तर लामो समयदेखि ल्याउने तयारी भैरहेपनि प्रक्रियागत ढिलाईका कारण संशोधन गर्न बल्ल प्रक्रिया अघि बढेको छ । अहिले अंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता छ । मानव अंग प्रत्यारोपण केन्द्रको तथ्यांक अनुसार नेपालबाट मिर्गौला प्रत्यारोपण गर्न विदेशिनेहरु धेरै छन् । मिर्गौला प्रत्यारोपणका लागि मात्रै वर्षेनी ६ अरब रुपैयाँ देश बाहिर जाने गरेको केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार यो कानुन बनेपछि सवारी दुर्घटनामा परी ज्यान गुमाउने धेरैजसोको अंग सदुपयोग हुनेछ । यस्तै नेपालमा नै कलेजो प्रत्यारोपण गराउन प्रक्रिया सुरु भएको छ । त्यसको लागि केन्द्रका केही डाक्टरहरु तालिम लिन बाहिरी देश गएका छन् ।

Post a Comment

 
Top