कैलाली, साउन २१ – संघीय संरचनामा कैलाली जिल्लाको केही भाग टुक्र्याने कुरा बाहिर आएपछि सुदूरपश्चिममा तनाव सुरु भएको छ । विरोध स्वरुप कैलालीको धनगढीमा प्रदर्शन भएको छ ।
धनगढीमा संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण र संविधानको मस्यौदाको विरोध कार्यक्रम अखण्ड सुदूरपश्चिम पक्षधरहरुले बिथोलेका छन् । बिहीबार बिहान ११ बजेदेखि जिल्ला विकास समिति कैलालीको सभाकक्षमा हुने भनिएको मस्यौदाको बिरोध कार्यक्रम अखण्ड सुदूरपश्चिम पक्षधरले नाराबाजी गर्दै टायर बालेपछि स्थगित गरिएको छ ।
कार्यक्रमका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष विजय गुप्ता लगायतका मधेसी नेताहरु बिहीबार धनगढी आइपुगेका हुन् । सयुक्त मधेसी लोकान्तीक मोर्चाले कार्यक्रम आयोजना गरेको स्थल जिल्ला विकास समितिमा नेतालाई छिर्न नदिने भन्दै बिरोध भएपछि धनगढीको होटल डिभोटीमा कार्यक्रमको आयोजना गरिएको छ ।
बिहान ११ बजेदेखि हुने भनिएको कार्यक्रम दिउँसो १ बजेदेखि मात्रै सुरु भएको हो । अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाको नेतृत्वमा होटलमा समेत नाराबाजी गरिएको छ । अखण्ड पक्षधरले बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । यस्तै सुदूरपश्चिम एक प्रदेशको माग गर्दै कैलालीको टीकापुर बजारबन्द गरिएको छ । स्थानीय युवाले बिहीबार बिहानैदेखि टीकापुर बजारमा नाराबाजी गर्दै बन्द आह्वान गरेका हुन् । बन्दका कारण टीकापुरबाट चल्ने तथा भित्रिने गाडी चल्न सकेका छैनन् भने बजार तथा उद्योगधन्दा बन्द छन् । हिन्दुराज्यको माग गर्दै गरिएको आन्दोलन र अखण्डको आन्दोलन संयुक्त रुपमा सुरु गरिएको छ ।
हिन्दु धर्म बचाउ संर्घष समिति कैलालीले बेलुका ५ बजे सम्म अत्तरियमा ३ घण्टा चक्काजाम र शुक्रबारदेखि अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । संघीय राज्य बनाउने क्रममा कैलालीलाई विभाजन गर्ने चर्चासँगै कैलालीमा प्रदर्शन भएको हो । दलहरूबीच कैलालीको खुटिया नदीलाई प्रदेश सीमा बनाएर पूर्वको भाग थारूवान/थरूहट तथा पश्चिमको भागलाई सुदूरपश्चिम र खप्तडमा राख्ने छलफल चलेसँगै कैलालीमा बुधबारदेखि नै बिरोध प्रदर्शन सुरु भएको हो ।
एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले खुटियालाई प्रदेशको सीमा बनाएर कैलालीलाई दुई भागमा विभाजन गर्ने सहमति जनाए पनि कांग्रेस र एमालेले अझै सहमति जनाएका छैनन् ।

Post a Comment

 
Top