मन्थली, असोज २ - रामेछापमा शुक्रबार बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै छ जनाको सनाखत भएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेमा गोठगाउँ गाविस–३ की मसिनी भन्ने दीलमाया मगर, ४ का हेमबहादुर थापा, ५ का भीमबहादुर बुढाथोकी, विजुलीकोट–४ का जीतजङ्ग महत, मन्थली नगरपालिका–७ की दीलकुमारी आलेमगर तथा मनकुमारी पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
दुर्घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएका थिए । घाइते सबैको उद्धार गरी मन्थली ल्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनकुमार परियारले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई काठमाडौं पठाईएको छ । 
सदरमुकाम मन्थलीबाट रामेछापको गोठगाउँ गाविसका लागि छुटेको यात्रुबाहक बस मन्थली नगरपालिका–७ जुँगेपानीमा सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो । 
प्रहरीका अनुसार मन्थलीबाट बस छुट्ने बेला ३५ जनामात्रै यात्रु रहेको तर बीच बाटोमा अरु थप यात्रु चढेकाले कति यात्रु भएको भन्ने यकिन छैन । तर गाउँलेले भने  बसमा करिब ७० यात्रुहरू रहेको र ५० भन्दा बढी घाइते भएको जनाएका छन् ।

Post a Comment

 
Top