महोत्तरी, साउन २८ – धनुषाको जनकपुर १४ मुझेलियामा रहेको जानकी डेरी उद्योगले उत्पादन गरेको दहीको प्याकेट फुलेर फुटबल जस्तो हुने गरेको छ । दहीको प्याकेट अश्वाभाविक रुपमा फुलेर फुलबल जस्तो हुन थालेपछि उपभोक्ताहरु अचम्ममा परेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका १ निबासी सरस्वती मिश्रले बुधबार साँझ किनेको आधा लिटरको दहीको प्याकेट बिहीबार बिहान फुलेर गोलो भकुण्डो जस्तो भएको पाइएको हो । बुधबार साँझ बर्दिबासमा रहेको ओमशान्ति डेरीबाट किनेर लगेको 
 आधा लिटरको दहीको प्याकेट बिहीबार बिहान हेर्दा फुलेर फुटबल जस्तो गोलो र साह्रो भएको पाएपछि आफूलाई अचम्म लागेको मिश्रका पति डाचाराज वाग्लेले बताउनुभयो । अस्वाभाविक रुपमा फुलेको प्याकेटको दही अखाद्य हुन सक्ने आशंकाले प्रयोग नगरिएको वाग्लेले बताउनुभयो ।
दहीको प्याकेटमा उत्पादन मिति र मूल्य पनि लेखिएको छैन । उत्पादन मिति र मूल्य नलेखी खाली छोडिएको प्याकेटमा चार दिन भित्रमा प्रयोग गरिसक्नु पर्ने उल्लेख गरिएको छ । तर जानकी डेरी उद्योगका सञ्चालक सन्तोष सिंहले भने दही अखाद्य नभएको दाबी गर्नुभयो ।
‘दहीलाई राख्दा तापक्रमको सन्तुलन नमिल्दा प्याकेट फुलेको हुन सक्छ’ सिंहले भन्नुभयो,‘चिसोमा राख्नुपर्थ्यो, बिक्रेता र क्रेताले चिसोमा नराखेको कारण प्याकेट फुलेको हुन सक्छ ।’ दहीको प्याकेटमा उत्पादन मिति नलेख्नु सामान्य कुरा भएको सिंहले दाबी गर्नुभयो । ‘आजसम्म कसैले पनि दहीको प्याकेटमा उत्पादन मिति किन नराखेको भनेर आफूलाई प्रश्न नगरेका सिंहको भनाई छ । 
बर्दिबासमा रहेको ओम शान्ति डेरीका सञ्चालनक नगेन्द्र श्रेष्ठले धेरै दिन भएपछि दही अमिलो हुने र गर्मीले प्याकेटमा ग्याँस भरिएपछि फुल्ने बताउनुभयो । जुनसुकै कम्पनीले उत्पादन गरेको दहीको प्याकेट पनि गर्मीमा फुल्ने श्रेष्ठको दाबी छ । ‘फुल्ने मात्र होइन, चिसोमा नराखे दहिको प्याकेट बम जस्तै पड्किन पनि सक्छ’, श्रेष्ठले भन्नुभयो ।

Post a Comment

 
Top