रौतहट, साउन २८ - रौतहटको सीमावर्ती भारतीय बजार बैरगनिया बजारमा गएराति डकैती भएको छ । डाँकाहरुले १५ लाख रुपैया भन्दा बढी भारतीय रुपैंयाको सामान लुटेर लगेका छन् ।
मट्टितेल र किरानाका होलसेल व्यापारी स्थानीय गणेश अग्रवालको घरमा डाँकाहरुले लुटपाट गरेका हुन् । २०/ २५ जनाको समूहमा आएका डाँकाहरुले घरको छतबाट प्रवेश गरेर लुटपाट गरेका थिए । डाँकाहरुले घरमा सुरक्षाका लागि खटिएका सोभन झा र सुवोध झालाई नियन्त्रणमा लिएर एक घण्टासम्म लुटपाट गरेको पीडित परिवारले बताएका छन् । उनीहरुले ५ वटा भन्दा बढी दराज तोडफोड गर्नुको साथै नगद, गरगहना, लत्ताकपडा गरी १५ लाख रुपैंया बराबरको समान लुटेको व्यापारी अग्रवालले बताउनुभयो ।
घटनाको बारेमा अनुसन्धान भैरहेको थाना प्रभारी सन्दीप सिंहले जानकारी दिनुभयो ।
भारतीय प्रहरीको बैरगनिया थाना र एसएसबी क्यामको २ सय मिटर दूरीमा रहेको घरमा लुटपाट भएपछि बैरगनीया क्षेत्रका व्यापारीहरु त्रसित बनेका छन् ।

Post a Comment

 
Top