पर्वत, साउन २८- वस्तीभन्दा माथिको पहाडबाट खसेको पहिरोका कारण पर्वतको देउराली गाबिसको जयलेको  सिङ्गो गाउँ जोखिममा परेको छ । गएको असार ८ गतेदेखि गाउँ माथिबाट निरन्तर पहिरो बग्न थालेपछि पर्वतको देउराली गाउँ विकास समिति वडा नं. ६ मा रहेको जयले गाउँ पहिरोको जोखिममा परेको हो ।   
गाउँका १८ घर परिवार पहिरोको खतरामा परेका छन् । पहिरोका कारण स्थानीय नेत्रकुमारी शर्माको घर पूर्ण रुपमा पुरेको छ भने पिताम्बर चापागाईं, कृष्णप्रसाद चापागाईं र तुलसीप्रसाद पौडेल विस्थापित भइसकेका छन् । चार घर पूर्ण रुपमा विस्थापित बनेपनि अन्य १४ परिवार पनि घरमा बस्न छाडेका छन् । 
कतिबेला माथिबाट पहिरो आएर अठ्याउँछ की भन्ने चिन्ताले उनीहरुपनि विस्थापित परिवारसँगै चौरमा टाँगिएका टेण्ट र त्रिपालमुनी बस्दै आएका छन् । पहिरोबाट विस्थापित बनेका केहि परिवारहरु भने छिमेकीको शरणमा बस्न बाध्य छन् । वैशाख १२ र २९ गते गएको भूकम्पका कारण ठाउँठाउँमा चर्किएको पहाड नै खसेपछि  सिंगो गाउँ जोखिममा परेको स्थानियबासी एकनाथ शर्माले बताउनुभयो  । 
] गएको वर्ष सामान्य रुपमा पहाड चर्किएर लेदो खसेपनि यसबर्ष ठूलो क्षेत्रफल ओगटेर पहिरो गएको छ । वर्षा पर्दा लेदो बग्ने र सुख्खा याममा ढुंगा खसिरहँदा १८ वटै घरपरिवार बैकिल्पक वासस्थानको खोजीमा छन् । पहिरोका कारण खानेपानी पूर्ण रुपमा क्षति भएको छ । झण्डै एक महिना अघिदेखि खानेपानीको अभाव खड्किएपछि स्थानीयबासीहरु पानीकै खोजीमा खोला धाउन बाध्य भएका छन् । 
‘जरुवा र खोला खोल्सिमा नधाएसम्म पानी मुखमा पर्दैन’ स्थानीय शिक्षक एकनाथ शर्माले भन्नुभयो  ‘पहिरोका कारण व्यवस्थित बासको सम्भावना त छैन नै त्यसैमा पनि खानेपानी समेत छैन ।’
त्यही पहिरोले खानेपानीको मुहान बगाएको छ भने अर्कोतर्फ बिजुली बत्तीमा पनि क्षति पुगेको छ । खानेपानीको मुहान नै बगाउँदा अहिले त्यस गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । त्यस्तै गाउँमा जाने एकमात्र गोरेटो बाटो समेत पहिरोले पुर्दा झनै समस्या सिर्जना भएको छ ।  पहिरोमा अहिले सुक्खा मौसममा पनि माथिबाट समय समयमा ढुंगा माटोहरु बग्ने गरेको  छ ।   आकाशमा कालो बादल देखिनासाथ यहाँका गाउँबासीहरु घर छाडेर अन्यत्र जानुपर्ने अवस्था आएको कुँडुले गाउँका समाजसेवी तिर्थराज सुवेदीले बताउनुभयो ।  जयले गाउँका पीडितहरुको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतको पहलमा अस्थायी घरबास निर्माण भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिबाट माग भई क्षेत्रीय प्रशासन कार्यालय पोखराले जयले गाउँका पीडितहरुलाई ४ वटा अस्थायी मेटल टहरा र २० थान त्रिपाल वितरण गरिदिएको छ । उक्त ४ वटा अस्थायी मेटल टहरामा विस्थापित भएका परिवारलाई व्यवस्थापन गर्न भनिएपनि गाउँलेहरुले सबै गाउँ जोखिममा रहेको भन्दै सवै परिवार मिलेर बस्ने गरेको गुनासो गरेका छन् । 
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तत्कालिन अवस्थामा उपलब्ध भएका मेटल टहराहरु उपलब्ध गराइएको र थप आवश्यक परेमा त्यहाँको जोखिममा परेका बासिन्दाहरुलाई अन्य विकल्प अपनाउन पहल गर्ने आश्वासन दिनुभयो  । सरकारले राहातको नाममा ४ वटा टेण्ड र केहि त्रिपाल दिएको छ सवै परिवार रातीको समयमा तिनै टेण्ट र त्रिपालमुनि सुतेर रात कटाउने गरेका छौ स्थानिय तुलसीप्रसाद पौडेलले भन्नुभयो  ।

Post a Comment

 
Top