मकवानपुर, साउन ३१ – मकवानपुरको हेटौंडामा बन्दकर्ताले ६ वटा गाडी तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै हेटौंडाको बसपार्क, बाइपास रोड, बुद्धचोक लगायतका स्थानमा ६ वटा गाडीमा  तोडफोड भएको हो । बन्दकर्ताले ५ वटा ट्रक र एउटा मोटरसाइकल तोडफोड गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै गाडी तोडफोड भएको हो । बन्दकर्ताले बसपार्क र बाइपास सडकमा ना ५ ख ६६७४, ना ४ ख ४८८७, ना २ ख १२७९ र ना ३ ख ६५४८ नम्बरको चार वटा ट्रक तथा एचआर ५५ टी ०५२४ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा तोडफोड गरेका छन् ।
त्यस्तै हेटौंडाको बुद्धचोकमा ना १७ प २३१९ नम्बरको मोटरसाइकल तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक शिशु शर्माले बताउनुभयो । प्रहरीले जबरजस्ती बन्द र तोडफोडमा संलग्न भएको भन्दै बन्दकर्ताका केन्द्रीय स्तरका नेता सहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य बिधुत बर्जाचार्य, संघीय समाजवादी पार्टीका मकवानपुर उपाध्यक्ष कुसुम बानियाँ, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका मकवानपुर अध्यक्ष मदनकुमार न्यौपाने, माओवादीका अर्का कार्यकर्ता रामबहादुर तामाङलाई पक्राउ गरिएको डिएसपी शर्माले बताउनुभयो ।

Post a Comment

 
Top