युएई, भदौ १९ - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) युएईको छैटौं महाधिवेशनले सुदिप कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एनआरएन युएईको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नयाँ कार्य समिति गठन गरिएको हो ।
शुक्रबार सम्पन्न निर्वाचनको प्राप्त मत परिणाम अनुसार कार्की १ सय ५५ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले ९२ मत मात्र प्राप्त गर्नुभयो ।
एनआरएन गैर राजनीतिक संस्था भए पनि युएईको निर्वाचनमा भने उम्मेदवारहरु पार्टीगत प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए । कार्की माओवादी र कांग्रेसको संयुक्त लोकतान्त्रिक समावेशी समूह र न्यौपाने एमालेको एकल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो। 
गैरआवासीय नेपाली संघको केन्द्रिय सदस्य आइसिसीमा युएईकोतर्फबाट प्रतिनिधित्व गर्दे गोपाल कँडेल निर्विरोध निर्वाचित हुनुभयो । कार्कीले नेतृत्व गरेको प्यानलले पूर्णरुपमा कार्य समितिमै जितेको हो । उपाध्यक्षत्रयमा नेत्रबहादुर थनेत, रबिरमण अधिकारी र रमेश श्रेष्ठ रहनु भएको छ । तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा ४ चनाले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धी मध्ये दामोदर दाहालले सबै भन्दा कम १ सय ३ मत ल्याएर पराजित हुनु भएको हो ।  त्यस्तै महासचिवमा दीपक खड्का निर्वाचित हुनु भएको छ । उहाँले १ सय ४१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी कृष्ण पौडेलले १ सय ५ मत प्राप्त गर्नु भएको थियो । 
सचिव द्वयका लागि भएको निर्वाचनमा पुष्प कार्की (१ सय ५० मत) तथा भूपति न्यौपाने (१ सय ३६) मत प्राप्त गरेर बिजयी हुनुभयो । कोषाध्यक्षमा सूर्य बस्नेत निर्विरोध निर्वाचित हुनुभयो भने युवा प्रतिनिधिमा निश्चल दाहाल र महिला प्रतिनिधित्वमा कल्पना राई निर्विरोध भएकाले चुनावी प्रस्तिपर्धा गर्नु परेन । 
एनआरएन एनसीसी युएईको कार्य समिति सदस्यमा राधाकृष्ण पाठक (२ सय ०१ मत ), अमर गुरुङ (१ सय ९१ मत), बालकृष्ण अधिकारी (१ सय ७० मत), ऋषि बस्याल (१ सय ६६ मत), राजु केसी (१ सय ६१ मत), गोविन्द भण्डारी (१ सय ५७ मत), बालकृष्ण मरासिनी (१ सय ४२ मत) र देबेन्द्र चालिसे (१ सय २ मत) निर्वाचित हुनु भएको छ । 
अध्यक्षमा निर्वाचित कार्की यसअघिको कार्य समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । काठमाडौं सिनामंगलका ३२ वर्षका कार्की १२ बर्षदिख युएईमा हुनुहुन्छ । एनआरएनकै इतिहासमा पहिलो पटक सबैभन्दा कान्छो अध्यक्षको रुपमा कार्की निर्वाचित हुनु भएको हो । शुक्रबार राती अबेर सम्म मतगणना गरेर शनिबार मात्र नतिजा सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक उत्तम अधिकारिले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।    
शुक्रबार सम्पन्न महाधिवेशनका लागि एनआरएन आइसिसी अध्यक्ष शेष घले (अस्ट्रेलिया) , उपाध्यक्ष टिबी कार्की (कतार), महासचिव कुमार पन्त (जर्मनी), कोषाध्यक्ष डा. बद्री केसी (रुस) महिला संयोजक सपिला राजभण्डारी (रुस), एनआरएन ओमनका संरक्षक डिबी खत्री, एनआरएन आइसिसी बहराइनका सदस्य जेपी सापकोटाको उपस्थिती थियो । 

Post a Comment

 
Top