भक्तपुर, भदौ ३१ -विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको ब्रत बस्नुभयो । हिन्दू महिलाहरुले तीजको ब्रत बस्दै आएपनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको ब्रत बस्नुभएको हो ।

देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएको बेलामा भक्तपुरमा भने हिन्दू धर्म बाहेक अन्य धर्म मान्नेहरुले पनि धार्मिक सहिष्णुता प्रकट गर्दै तीज मनाएका छन् ।
खातुन दर्शनका लागि शिव मन्दिर नगएपनि आफ्नो श्रीमान् र परिवारको सुखका लागि तीजको ब्रत बसेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘छिमेकीहरुसंग मिलेर सामुहिक दर पकाएर हिन्दू महिलाहरुसंगै बसेर दर खाए, यसवर्ष तीजको ब्रत पनि बसेँ, हाम्रो धर्म फरक भएपनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, धर्म र जातको नाममा देशमा कहिले राजनीति नभए हुन्थ्यो ।’
खातुनसँगै रहेका चारजना मुशलमान महिलाले पनि दर खाएर तीजको ब्रत बसे । खातुन जस्तै भक्तपुर सल्लाघारीकी सारदा श्रेष्ठले पनि यसवर्ष आफ्नो श्रीमान् र परिवारको सुखको कामना गर्दै दर खाएर तीजको ब्रत बस्नुभयो ।
नेवार समुदायमा तीजको ब्रत बस्ने परम्परा नभएपनि गत वर्षदेखि छिमेकीसँगै आफू पनि ब्रत बस्न थालेको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘हाम्रो नेवार समुदायले दर खाने, तीजको ब्रत बस्ने परम्परा छैन, तर तीजको ब्रत श्रीमान् र परिवारको सुख, शान्तिका लागि भन्ने थाहा पाएपछि गतवर्षदेखि नै ब्रत बस्न थालियो ।’
छिमेकी पार्वती शर्माले तिजको ब्रत बारे बताएपछि गत वर्षदेखि उनीहरुसंगै तीजको ब्रत बस्दै आउनु भएकी शारदा मात्रै होइन, सारदाको परिवारमा रहेका चारजना महिला पनि तीजको ब्रत बस्न थालेका हुन् ।
भक्तपुरमा यसवर्ष बाहुन क्षत्रीले मात्रै नभई नेवार, लामा, तामाङ्ग, राई समुदायका महिलाहरुले सामुहिक रुपमा तीज मनाएका छन् भने हिन्दूसँगै मुसलमान र ईसाई धर्मावलम्वीले पनि तीज मनाएका छन् ।
एक धर्मले अर्को धर्मको सम्मान गर्ने सबैको धर्म, परम्परा र संस्कृतिलाई सम्मान गर्न थालिएको हो ।

Post a Comment

 
Top