भोजपुर, भदौ १९ - पूर्व सभासद सुदन किरातीले कर्मचारीसँग पैसा मागेको भन्दै भोजपुरका कर्मचारीले विरोध जनाएका छन् । एकीकृत नेकपा माओवादी जिल्ला कमिटि अध्यक्षसमेत रहेका किरातीले कर्मचारीसँग पैसा मागेर गरेको व्यवहारले राष्ट्रसेवकलाई कार्यक्षेत्रमा रहेर काम गर्न सक्ने बातावरण नभएको भन्दै भोजपुरका कर्मचारीसम्वद्ध संघसंगठनले विज्ञप्तिमार्फत भर्त्सना गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, स्थानीय निकाय कर्मचारी संघ, गाविस सचिव हक हित संरक्षण केन्द्र, नेपाल निजामति कर्मचारी युनियन र नेपाल निजामति कर्मचारी संगठनको जिल्ला नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तिमा छानवीन गरि दोषी लाई कारवाहीको माग गरिएको छ । राष्ट्रसेवकलाई आफ्नो कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण बनाइ दिन माग गरिएको छ । 
किरातीले जिविस भोजपुरमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा कार्यरत् जिल्ला शासन विज्ञ इन्जिनियर राजु शिवाकोटीसँग ६० हजार रुपैयाँ मागेर पैसा जम्मा गर्नको लागि बैंक खातासमेत एसएमएस गरि पठाएको कर्मचारीको दावी छ । 
शिवाकोटीलाई भदौ ३ गते मोवाईलमा फोन गरि थर्काउने डनलाई सम्झाई दिने तर त्यसका लागि पैसा दिनुपर्ने सर्त किरातीले राखेपछि असुरक्षा बढेको भन्दै शिवाकोटी जिल्ला छाडेर हिंड्नुभएको छ । शिवाकोटीले फोन गरेर कसैले आफूलाई धम्की दिने गरेको बताउँदै आउनुभएको थियो । 

Post a Comment

 
Top