काठमाडौं, भदौ १७ - ‘पिआरसँग पोइल जाने कर्मचारीका लागि कालबाबु हुँ, डिभीसँग डेटिङ गर्ने प्रहरी÷प्रशासकलाई अकालबाबु हुँ’ काठमाडौं प्रज्ञा भवनमा भैरहेको गाईजात्रा महोत्सवमा साइकल गुडाउँदै मञ्चमा पुगेका मान्छे देख्दा धेरै दर्शकले ठान्छन्–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि कार्यक्रममा आएछन् । तर मन्त्री पण्डितको हाउभाउ र बोलीचाली दुरुस्तै उतार्ने मान्छे चाहिँ हाँस्य कलाकार मनोज गजुरेल हुन् ।

पूर्व राजा ज्ञानेन्द्रदेखि बिभिन्न नेताहरुको क्यारिकेचर गर्न खप्पिस कलाकार गजुरेलले यसपाली मन्त्री पण्डितको कार्यशैलीलाई मञ्चमा उतारेका छन् । अरुको क्यारिकेचर गर्दा व्यंग्य गर्ने चलन भएपनि यसपटक भने कलाकार गजुरेलले मन्त्री पण्डितको व्यंग्य नभएर राम्रो कामको प्रशंसा गर्दै क्यारिकेचर गरेका छन् ।
अनुहारको रुपरंग, लवाई, बोली र हाउभाउ उस्तै बनाएर मञ्चमा देखिने मन्त्री पण्डितरुपी गजुरेललाई उनका सहयोगी बनेका कलाकारले झण्डावाल गाडी छोडेर किन साइकल चढेको भनेर प्रश्न गर्छन् । अनि ‘असामान्य मन्त्री’ भन्छन्, ‘न मैले अरु नेतालेजस्तो डन पाल्न जानेको छु, न त मन्त्रीले जस्तो जस्ता लुकाउन जानेको छु । अहिले भ्रष्टाचार नगर्ने मन्त्रीले रिटायर्ड भएपछि आफ्नै साईकलमा कुद्नुपर्छ । त्यसैले मलाई पजेरो नि यही, मलाई प्राडोपनि यही हो । आफ्नै क्याबिनेटमा भएका पिआर र डिभीहोल्डर मन्त्रीलाई कारबाही गर्नुहुन्न अनि सासाना माछालाई मात्रै समाउनु हुन्छ रु भन्ने प्रश्नमा फेरि लालबाबु बनेका गजुरेलको जवाफ हुन्छ, ‘म माछा समाउन र मार्न लालबाबु माझी होइन पण्डित हुँ । पण्डितको काम के हो भने ‘दानानबध्धु बलीराजा महाचिन्ते’ प्रधानमन्त्रीकै पिए पिआरवाली रहिछन् कारबाही गर्न किन दिन्थे । डिभीप्रति तपाईंको आक्रोश किन ? भन्ने अर्को प्रश्नमा फेरि ‘असामान्य मन्त्री’को उत्तर छ, ‘ मैले सर्वसाधारणको विरोध गरेको छैन । मैले त दुध आउन्जेल नेपाल आमा को लाम्टो चुस्ने र दूध आउन छोडेपछि अमेरिकी मितबाउँको घुडो चुस्ने तपाईंजस्ता भातमाराको मात्र विरोध गरेको हो । ’
गाईजात्रा महोत्सवमा कलाकार गजुरेलले मन्त्री पण्डितको क्यारिकेचरसँगै भूकम्पपछि भएको दाता सम्मेलनलाई व्यंग्य गर्दै ‘विधाता सम्मेलन’ को अर्को प्रहसन पनि प्रस्तुत गरेका छन् ।

Post a Comment

 
Top