काठमाडौं, भदौ २७ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसलाई स्वतन्त्र देश बनाउने बहस उठेको भन्दै यो बहस आत्मघाती र राष्ट्रघाती भएको बताउनुभएको छ । 

संविधानसभाको बैठकमा प्रचण्डले तराई मधेसमा अहिले चलिरहेको आन्दोलनलाई स्वतन्त्र मधेस देशको आन्दोलन बनाउने बारेमा बहस सुरु भएको भन्दै भन्नुभयो ‘यो बहस आत्मघाती पनि छ र राष्ट्रघाती पनि छ ।’
मधेसलाई स्वतन्त्र देश बनाउने बहसले मधेसका नागरिकलाई फाइदा नगर्ने भन्दै उहाँले मधेस काठमाडौंबाट कहिल्यै अलग हुन नहुने बताउनुभयो । ‘मधेसबाट आएका राजाहरुले काठमाडौंमा मठ मन्दिर बनाएका छन्, मधेसी नागरिकका रगत र पसिना काठमाडौंमा जोडिएको छ’ प्रण्डचले भन्नुभयो ‘त्यसैले मधेसले काठमाडौंसँग आफ्नो अधिकार खोज्नु पर्छ । काठमाडौंबाट अलग्गिनु हुँदैन ।’ 
मधेसमा भइरहेको आन्दोलन हिंसात्मक भएकोमा दुःख व्यक्त गर्दै प्रचण्डले संयम अपनाउन आग्रह गर्नुभयो । ‘राज्यले धेरै बल प्रयोग गरेको छ । प्रहरीलाई जलाउने मार्ने हिंसात्मक घटना पनि भएका छन्’ प्रचण्डले भन्नुभयो ‘यस्ता कार्य तत्काल रोकिनु पर्छ ।’

दलका नेताको हैसियतमा संविधानमा अन्तिम संबोधन

प्रचण्डले संविधानसभाबाट अब संविधान जारी हुने संकेत गर्दै भन्नुभयो ‘दलको नेताका तर्फबाट संविधानसभामा बोल्ने यो नै अन्तिम अवसर हो ।’ 
नागरिकका तर्फबाट इतिहासमा पहिलो पल्ट नागरिकका तर्फबाट संविधान जारी गर्न लागेको भन्दै प्रचण्डले भन्नुभयो ‘यो सबै नेपालीका लागि गौरवको विषय हो । ६५ वर्षको संघर्षपछि यो अवसर आएको हो ।’ 
]संविधानसभालाई असफल पार्ने षडयन्त्र भइरहेकोले ती षडयन्त्र सफल हुन नदिनका लागि पनि एकीकृत नेकपा माओवादीले आफ्ना केहि एजेण्डा छाडेर पनि संविधान जारी गर्न चाहेको प्रचण्डले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘संविधान जारी गर्नका लागि हामीले हाम्रा धेरै एजेण्डाको बलिदान दिएका छौं ।’
थारु बाहुल्य ठाउँमा थारु राज्य बनाउनु पर्ने थारुहरुको माग जायज रहेको भन्दै प्रचण्डले आफूहरु सधैं आदिवासी, जनजाति, महिला, दलितसहितका दवाव समूहको साथमा रहेको बताउनुभयो । उनीहरुका मागलाई संविधानमा पछि पनि समेट्न सकिने प्रचण्डले बताउनुभयो । 

Post a Comment

 
Top