काठमाडौं, भदौ ३१ - त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित कुनै पनि परीक्षा नरोकिने स्पष्ट पारेको छ । असोज ४ गतेदेखि २१ गतेसम्म हुने स्नातक तह पहिलो वर्षका परीक्षाको सवैजसो तयारी सकिएकाले परीक्षा नरोकिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक शंकर भण्डारीले जानकारी दिनुभयो ।

सवै परीक्षा केन्द्रका लागि निरीक्षक, प्रश्नपत्र, उत्तरपुस्तिकालगायत सामान पठाइसकिएकाले अब कुनै कारणले पनि परीक्षा नरोकिने उहाँले बताउनुभयो । असोज ४ गते सरकारले विदा दिने तयारी गरेको तथा तराईमा चलिरहेको आन्दोलनका कारण परीक्षाबारे अन्योल भइरहेका बेला परीक्षा नियन्त्रण कार्यालयले परीक्षा नरोकिने स्पष्ट पारेको हो ।
उपनियन्त्रक भण्डारीले एउटा तहको परीक्षा रोकिँदा विश्वविद्यालयको सिंगो क्यालेण्डर प्रभावित हुने तथा अहिले परीक्षा रोक्दा कम्तिमा पनि छठ पर्वपछि मात्र परीक्षा गर्नुपर्ने अवस्था आउने भएकाले परीक्षा नरोकिने जानकारी दिनुभयो । 
उहाँले विभिन्न ठाउँमा भइरहेका आन्दोलन र बन्द हड्तालले परीक्षार्थीलाई समस्या पार्ने भन्दै परीक्षाका बेलामा आन्दोलन फिर्ता लिएर सहयोग गर्न पनि आन्दोलनकारी पक्षसँग आग्रह गर्नुभयो । 

Post a Comment

 
Top