काठमाडौं, भदौ ३१ - सरकारले उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।  युवा तथा खेलकुद मन्त्रालयले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको समारोहमा खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले २३ खेलाडी, प्रशिक्षक र  अन्य प्राविधिकलाई चेक हस्तान्तरण गर्नुभएको हो । मन्त्री पौडेलले १९ वर्षमुनिको साफ फुटबलमा नेपाल र अफगानिस्तान बीचको सेमिफाइनल खेल लगत्तै नेपालले उपाधि जिते एक–एक लाख पुरस्कार दिने घोषणा गर्नुभएको थियो । सम्मानित खेलाडी एवम् प्रशिक्षकलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष एवम् सभासद् गणेश थापा र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सम्मान गर्नुभएको थियो । खेलकुदमन्त्री पौडेलले फुटबलमा पाएको सफलताले नेपालको प्रतिष्ठा बढेको बताउनुभयो । भदौ ३ देखि १२ गतेसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा नेपाली युवा टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो । 

Post a Comment

 
Top