५ साउन, भैरहवा । संविधानको मस्यौदामा सुझाव संकलनमा मधेसवादी दलहरुले अवरोध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप दर्ता रुपन्देहीको सूर्यपुरा र धकधही तनावग्रस्त भएको छ ।

Rupandehi Dhakdhai
रुपन्देही क्षेत्रनम्बर ५ को विष्णुपुरा गाविस कार्यालयमा आयोजित सुझाव संकलन कार्यक्रम चलिरहँदा मधेसवादी दलहरुले अवरोध गरेपछि प्रहरीले १४ सेल अश्रुग्याँस प्रहार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालका अनुसार कार्यक्रम चलिरहेकाबेला प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा २ प्रहरी घाइते भएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको बताए । उनका अनुसार प्रदर्शनकारीले २ वटा मोटरसाइकल तोडफोड समेत गरेका छन् ।
स्थिति तनावग्रस्त भएपछि केहीबेर कार्यक्रम स्थगित गर्नुपरेको थियो । त्यसपछि प्रहरीले सर्च अभियान चलाएर प्रदर्शनकारीहरुलाई लखेटेको थियो ।
प्रमुख जिल्ला अधिकारी शर्माले सुरक्षाकर्मीलाई संयमित हुन र कार्यक्रममा अवरोध हुन नदिन निर्देशन दिइएको बताए ।
तमलोपाका नेता इस्लाम खानले भने आफूहरुले सुझाव संकलन कार्यक्रममा आक्रमण नगरेको दाबी गरे । उनका अनुसार सुरक्षाकर्मीले सुझाव संकलन केन्द्रलाई घेरेर आफूहरुलाई भित्र प्रवेश गर्न नदिएपछि करिब १ सय मिटर टाढा मन्च बनाएर आफ्ना भनाइ राख्न खोज्दा प्रहरीले दमन गरेको थियो ।
धकधहीमा पनि तनाव
Rupandehi-Dhakdhahi
धकधहीमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट केशव पाण्डे घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । प्रदर्शनकारीहरुले धकधहीको प्रहरी बीट तोडफोड गरेर आगजनी समेत गरेका छन् ।
प्रहरीमाथि हमला भएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लखेटि लखेटि लाठी प्रहार गरेको थियो । धकधकी चोकका घर घरमा पसेर समेत प्रहरीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
सो क्षेत्र रुपन्देही निर्वाचन क्षेत्रनम्बर १ को सुझाव संकलन केन्द्र भन्दा करिब २-३ सय मिटर दुरीमा पर्दछ । बाहिर तनाव भए पनि सुझाव संकलनको काम भने जारी थियो । कार्यक्रममा कांग्रेस, एमाले, एमाओवादी लगायत दलका सीमित नेता-कार्यकर्ता थिए । सर्बसाधारणको उपस्थिति भने अत्यन्त कम थियो ।
तनावका कारण सडक सुनसान थियो भने प्रहरी, मानवअधिकारवादी र सन्चारकर्मी मात्र देखिन्थे ।

Post a Comment

 
Top