नुवाकोट, साउन ४ – अर्थमन्त्री रामशरण महतमाथि सूर्यमति–२ ढिकुरेखोल्सामा बम प्रहार भएको हल्ला निराधार भएको नुवाकोट प्रहरीले जनाएको छ । बम प्रहारको हल्ला पछि जिल्लामा सुरक्षा व्यवस्था भने कडा बनाइएको छ ।
टोखा–छहरे सडक हुँदै क्षेत्र नं. २ को खरानीटारमा संविधानको प्रारम्भिक मस्यौदामा सुझाव कार्यक्रममा जाँदै गरेको अर्थमन्त्रि महतको गाडी नजिकै सूर्यमति–२ ढिकुरेखोल्सामाथिबाट तीन वटा शिसीले प्रहार भएको तर त्यो बम नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।
‘हामीले घटनास्थलमै गएर हेर्‍यौं । एक जना बोल्न नसक्ने अपांग रहेछन् । मानसिक अबस्था पनि ठिक नभएको हुनसक्छ । पुराना बोत्तलहरु थुपारेको रहेछ । त्यही बोत्तल फालेको हो’ डिएसपी पौडलले भन्नुभयो ‘बम होइन । पेट्रोल बम भए पेट्रोलको गन्ध र अरु बम भए बारुदको गन्ध हुन्छ । त्यस्तो केही छैन ।’
डिएसपी पौडेलले वास्तविकता के हो अझै अनुसन्धान भैरहेको बताउनुभयो । अर्थमन्त्रि डा. महत चढेको गाडी भन्दा २० मिटर पछाडि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत पनि रहनु भएको थियो । डा.प्रकाशशरण महतले पनि  आफुले वम प्रहार भएको र पड्किएको नदेखेको बताउनुभयो ।
पूर्वमन्त्री डा. महतका नीजि सुरक्षा अधिकृत हेमराज पोखरेलले पनि बम प्रहार नभएको बताउनुभयो । ‘बच्चाबच्ची खेरिरहेका थिए । उनीहरुले खेल्नेक्रममा आगो बालेका हुन् । बम सम्बन्धी तालिम मैले पनि लिएको छु । बम प्रहार भएको होइन’ पोखरेलले बताउनुभयो ।
बोल्न नसक्ने अपांग व्यक्तिले खेल्नेक्रममा खस्न पुगेको सिसीलाई नै अर्थमन्त्रिसँगै आएका कार्यकर्ताहरुले बम प्रहार भनेपछि जिल्लामा सुरक्षाव्यवस्था कडा पारिएको छ । बम प्रहारको हल्लाले गर्दा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन बढाएको छ ।

Post a Comment

 
Top