म्याग्दी, साउन ५ – संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गर्न आयोजित कार्यक्रमका सहभागीहरुले प्रस्तावित मस्यौदामा हिन्दु राज्यदेखि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

संविधानसभा अन्तर्गतको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा म्याग्दीको बेनीमा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी भएका अधिकांश नागरिकले ७५ प्रतिशतभन्दा बढी हिन्दुधर्मावलम्बी रहेको मुलुकलाई जबर्जस्ती धर्मनिरपेक्ष घोषणा गरिएको भन्दै नयाँ संविधानमा यसलाई सच्याएर ‘सनातन हिन्दुराष्ट्र’ उल्लेख गर्नुपर्ने माग गरेका छन् । यस्तै नियतवश अर्काको ज्यान लिनेलाई मृत्युदण्डको व्यवस्था संविधानमा गर्न पनि म्याग्दीका नागरिकले माग गरेका छन् ।    
म्याग्दी बुहुमखी क्याम्पसका सहप्राध्यापक नारायणदत्त सुवेदीले ‘हिन्दु धर्म’ ‘धर्म’ मात्र नभई ज्ञानविज्ञान र सभ्यता पनि भएको बताउनुभयो । ‘नेपालमा हिन्दु, बौद्ध र किराँत लगायतका धर्मावलम्बीको संख्या ९० प्रतिशतभन्दा बढी छ’ सुवेदीले भन्नुभयो ‘धर्म भनेको कर्मकाण्ड मात्र नभई ज्ञानविज्ञान र संस्कृति पनि हो भन्ने कुरा भुल्न भएन ।’ नेपाल पूर्वीय दर्शन र सभ्यताको केन्द्रविन्दु भएकोले यहाँको जनजीवन धर्मसंस्कृतिबाट निरपेक्ष हुन नसक्ने उहाँको तर्क थियो ।
मस्यौदामाथि संशोधन प्रस्ताव गर्दै ब्राह्मण समाज म्याग्दीका अध्यक्ष गिरिराज सुवेदी, क्षत्री समाज म्याग्दीका अमृतदेवी बानियाँ, राखुभगवतीका द्वन्द्वपीडित खिमबहादुर केसी, भू–संरक्षण अधिकृत दिवाकर पौडेलले संघीय प्रदेश निर्माण गर्दा उत्तर–दक्षिण मिलाई संघको गठन गर्नुपर्ने बताउनुभयो ।
‘जलाधारीय क्षेत्रका आधारमा प्रदेश विभाजन गर्नुपर्छ’ जडिबुटीविज्ञ चन्द्रमणि सापकोटाले भन्नुभयो ‘हचुवाको भरमा प्रदेश विभाजन गर्दा समस्या आउन सक्छ ।’ कार्यक्रमका सहभागीको सुझाव लिँदै सभासद नवराज शर्माले नागरिकले दिएका सुझावलाई प्रतिवेदनका रुपमा जस्ताको तस्तै संविधानसभामा पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।

Post a Comment

 
Top