सिन्धुली, साउन ४ - सिन्धुली जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा अब बन्ने नयाँ संविधानको पहिलो मस्यौदामाथि सुझाव दिने स्थानीयबासिन्दा उत्साहित भएर सहभागी भएका छन् । 
 मस्यौदामाथिको सुझाव सङकलनका लागि क्षेत्र नं. १ को दुधौली र खाङसाङ, क्षेत्र नं. २ को सदरमुकाम सिन्धुलीमाढी र भिमेश्वर खुर्कोट, क्षेत्र नं. ३ को कपिलाकोट र झाँगाझोली रातमाटा गाविसलाई केन्द्र तोकिएको छ । 
पहिलो दिन सोमबार निर्बाचन क्षेत्र नं. १ को दुधौलीमा, क्षेत्र नं. २ को सदरमुकाम सिन्धुलीमाढी र क्षेत्र नं. ३ को कपिलाकोट गाविसमा सम्बन्धित क्षेत्रका सभासद र नागरिकहरु एकै थलोमा बसेर नयाँ संविधानको मस्यौदामाथि छलफल गरेका हुन् । मङगलबार बाँकी केन्द्रमा सुझाव संकलनको काम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
छलफलमा सहभागी विभिन्न राजनीतिक दल, व्यापारी, दलित, आदिबासी जनजाति, एकल महिला, पेशाकर्मी, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरुले सङ्घीय लोकतान्त्रिक संविधान नेपाली जनतालाई सकेसम्म चौडै दिन सभासदसमक्ष सुझाव दिएका छन् । 
संविधानको मस्यौदामाथि सर्बसाधारण नागरिकले दिएका सुझावको ओईरो लागेको छ । सदरमुकाम सिन्धुलीमाढीमा भएको सुझाव सङ्कलन कार्यमा झण्डै हजारको हाराहारीमा नागरिकको उपस्थिती भएको थियो । 
सदरमुकाम सिन्धुलीमाढीमा सुझाव संकलन कार्यमा सहभागीहरुले राष्ट्रपतिलाई मात्र नभई न्यायालयभित्र भित्र पनि महाअभियोग लगाउने व्यवस्था संविधानमा राख्न सभाागिहरुले जोड दिएका छन् । क्षेत्र नं. २ का सभासद मोहनप्रसाद बरालले नागरिकबाट प्राप्त सुझावहरुलाई जस्ताको तस्तै संविधानसभामा बुझाउने बताउनुभयो ।

Post a Comment

 
Top