काठमाडों, भदौ २७ – हिन्दु धर्मावलम्बीले आइतबार पवित्र वनस्पति मानिने कुशलाई घरघरमा भित्र्याएर कुशे औँसी मनाउँदैछन्। घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।

‘कुश’ देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पुर्‍याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।
कुशे औँसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।
बुबा नहुनेले भने काठमाडौैं उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।
आइतबारनै नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसीका दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।
श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गर्नुभएको थियो । तीस वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसीकै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

Post a Comment

 
Top