काठमाडौं, भदौ २७ - प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेसमा  देखिएका समस्याको हल गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

एकीकृत नेकपा माओवादीका तराई मधेसका निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सभासदसँग आइतबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उहाँले संविधान निर्माणमा सबै राजनीतिक पार्टीले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने कार्यलाई प्राथमिकता दिएकाले नै संविधान निर्माणमा प्रगति हुन सकेको बताउँदै अहिले छुटेका सानातिना कुरालाई संविधान संशोधनमा समेत समेट्न सकिने बताउनुभयो ।
संविधान निर्माणसहित राजनीतिक समस्याको समाधानका लागि मधेसवादी दलसहित थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिलाई वार्ताको निमित्त आह्वान गरिएको र वार्ताका निमित्त संविधानसभाको प्रक्रिया सुस्त गरिएको उहाँले जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो । प्रधानमन्त्री कोइरालाले तराईको जनजीवन सामान्य बनाउन सरकारले अधिकतम प्राथमिकता दिएको बताउँदै कुनै कमजोरी भएको भए सच्याएर लगिने स्पष्ट गर्नुभयो ।
तराईका जिल्लामा केही समयदेखि सञ्चालन गरिएको आन्दोलनले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले सर्वसाधारण नागरिकको दैनिक जीवनलाई कष्टकर बन्न नदिन सरकार कार्यरत रहेको अवगत गराउनुभयो । 'संविधानसभामा निर्माणको अन्तिम चरणमा पुगेको संविधानको मस्यौदाले नेपाली जनताले झन्डै एक शताब्दी लामो समयदेखि लोकतान्त्रिक शासन पद्धतिको स्थापना र विकासका लागि गरेको आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्ने भएकाले यसलाई परिणाममा पुर्‍याउन सबैको सहयोग अपेक्षित छ' प्रधानमन्त्रीले भन्नुभयो ।
त्यस अवसरमा एमाओवादी सभासद्ले तराईका जनजीवन सामान्य बनाउन सरकार अधिकतम लचक हुनुपर्ने र सामान्य नागरिक भयभीत हुने अवस्था सिर्जना नहुने अवस्था कायम गर्नुपर्ने माग गर्नुभएको थियो ।

Post a Comment

 
Top