Solukhumbu-Banda
२७ भदौ, सोलुखुम्बु । शेर्पा प्रदेश बनाउन माग गर्दै सोलुखुम्बुसहित ६ जिल्ला बन्द आह्वान गरेका शेर्पा समुदायले फाप्लु विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानमा आक्रमण प्रयास गरेका छन् ।
माथितिरको सडकबाट तारबार नगरिएको विमानस्थलमा अवतरण गरेको विमानलाई लक्षित गरी प्रदर्शनकारीले बोतल प्रहार गरेका थिए । सो बोतलले विमानमा लागेन र कुनै क्षति पनि भएन ।
बन्दकर्ताले विमानस्थलमा पेट्रोल बम प्रहार गरेको हल्लाले स्थानीय आतंकित भएका थिए । तर, प्रहरी निरीक्षक कुन्दन देवले पेट्रोल बम प्रहार नभएको स्पष्ट पारे ।
संयोजकसहित दुईजना पक्राउ
यसैबीच प्रहरीले शान्तिसुरक्षामा खलल पुर्‍याएको भन्दै शेर्पा प्रदेश संघर्ष समितिका सोलुखुम्बु संयोजक पेम्बा शेर्पा र सहसंयोजक ङीमा शेर्पालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सल्लेरीमा र्‍यालीमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोलुखुम्बुसहित, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र संखुवासभाका भूभाग समेटेर शेर्पा प्रदेश बनाउन संघर्ष समितिले माग गरेको छ ।
Solukhumbu-Banda,-Sherpa
हालसम्म बन्द हड्ताल नभएको पर्यटकीय जिल्ला सोलुखुम्बु आइतबार पहिलोपटक ठप्प छ । सदरमुकाम सल्लेरीमा यातायात, विद्यालय, वित्तीय संस्था, होटल, लज तथा पसलहरु बन्द छन् । सल्लेरीबाट काठमाडौं तथा अन्य स्थानका लागि छुट्ने सवारी साधनहरु छुट्न सकेका छैनन् ।
सडकमा बिहानैदेखि मोटरसाइकलसमेत गुड्न सकेका छैनन् । बिहानैदेखि बौद्ध धर्मावलम्बीहरु, शेर्पा समुदायहरु आफ्नो भेषमा सडकमा उत्रिएका थिए । उनीहरुले अहिले पनि चोक-चोकमा भेला भएर शान्तिपूर्ण रुपमा नारा जुलुस गरिरहेका छन् ।
बन्द तथा नारा जुलुसलाई मध्यनजर गरेर सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । बजारका चोक चोकमा प्रहरीको उपस्थिति बाक्लो छ ।
आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने शेर्पा प्रदेश संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन कमिटी संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिए । उनले शेर्पा प्रदेशमा समेट्नु पर्ने सोलुखुम्बु सहित, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, संखुवासभा जिल्ला बन्द गराएको बताएका छन् ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top